अष्ट्रेलियामा पछिल्ला केहि दिन यता सुरक्षा सतर्कता निकै मजबुत बनाइएको छ | सरकारी सुरक्षा अधिकारीहरुले  भनेका छन् ” अष्ट्रेलियालाई आतंककारी हमलाको अर्को निशाना बनाउन सक्ने उच्चस्तरीय योजनामा इस्लामिक समुहहरु रहेको संकेत प्राप्त भएको छ | ” यद्यपि उनीहरुले कहाँ र कहिले त्यस्ता आक्रमण हुन सक्ने भन्ने बारे जानकारी नभएको बताएका छन् |

सुरक्षा सतर्कताकै बिषयलाई लिएर शुक्रबार अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोटले भनेका छन्  “सरकारले  आतंकारी हमलाको प्रतिवाद गर्ने कुनै खास संयन्त्र बनाएको छैन  तर खतराका संकेतहरु थाहा पाउने सरकारी संयन्त्र तयार छन् | ”  मध्यपुर्बमा जारी इस्लामिक आतंककरी आक्रमण विरुद्ध अष्ट्रेलियाले गरेको  सहयोगकै कारण   आतंकारी आक्रमणको अर्को निशाना अष्ट्रेलियाली भुमि हुन सक्ने संकेत सरकारी सुरक्षा अधिकारीहरुले गरेका छन् | प्रधानमन्त्री एबोट ले प्रष्ट परेका छन् ”  त्यसो त त्यस्ता हमलाहरु जुनसुकै प्रकारका हुन सक्छन, आतंक सिर्जना गर्ने हमलाहरु प्राय: मानिसहरुको जमघट र भीडभाड हुने केन्द्रहरुमा हुने गर्छ  जस्तै, विमानस्थल, सभागृह, नाइट क्लबहरु र सरकारी भवनहरु जहाँ आमनागरिकहरु  दैनिक जसो सेवाग्राहीको रुपमा  भिड लाग्ने गर्छ | त्यसैले अबका दिनमा अष्ट्रेलियाका यी क्षेत्रमा सुरक्षाकर्मिको बाक्लो उपस्थिति देखिने छ |”

अष्ट्रेलियामा आगामी २ महिना पछि हुने भनिएको जी 20 आर्थिक सम्मेलनको मिति नजिकिंदै गर्दा यो खतराको संकेत बाहिर आएको हो | मुस्लिम नेता जमल रिफीले भनेका छन् ” सम्भावित खतराका संकेतहरुले मुस्लिम समुदायलाई चिन्तित तुल्याएको छ |   कुनैपनि आतंकको बिरुद्धमा हामी सहयोगी बन्ने छौं | अष्ट्रेलिया कुनै आतंककारी हमला भएमा सबै  भन्दा ठुलो आघात  मुस्लिम समुदायले बेहोर्नुपर्ने छ | यदि कुनै युवा वा समुहले देशका आमनागरिकमाथि कुदृष्टि राख्छ भने सबैभन्दा पहिले अष्ट्रेलियाका मुस्लिम समुदाय नै प्रतिवादमा उत्रने छन् ” |

अष्ट्रेलियन संघीय प्रहरी आयुक्तले भनेका छन्, “सर्व साधारणको सचेतनाका लागि हामीले यो जानकारी दिएका हौँ , जनजीवन सामान्य रुपमा नै चल्नेछ तर सार्वजनिक स्थलमा हुने सुरक्षाकर्मिको बाक्लो  उपस्थती र बेलाबेलामा हुन सक्ने सुरक्षा जाँच प्रति त्रसित नहुन आग्रह गर्छौ | ”

सप्तान्तमा टाउन्सभिलेमा  हुन लागेको फूटबलखेल हेर्न जाने दर्शकहरुले स्टेडियममा बाक्लो सुरक्षा उपस्थिति देख्नेछन | स्टेडियममा छिर्नु अघि सुरक्षा जाँचका लागि लामो लाइनमा बस्नु पर्ने र झोला समेत चेकजांच हुने छ | सुरक्षाका नाममा सर्वसाधारणका दैनिकीमा सामान्य रोकावट देखिए पनि आआफ्नो ठाउँबाट आमनागरिकको  सहयोग अपरिहार्य भएको अधिकारीहरुले बताएका छन् | ( समाचार सन्दर्भ/तस्विर श्रोत: एबिसी न्युज)

Please follow and like us:

Comments