काठमाडौं । बलिवुड सुपरस्टार विद्या बालन आफू प्रमुख रहेका फिल्म अर्थात नायिका केन्द्रित फिल्महरुमा व्यस्त छिन् । यस्ता फिल्मको माध्यमबाट उनले नायिका लगायत सबै महिलालाई सशक्त त बनाएकी छिन् नै बलिवुडमा पनि फरक धार भित्र्याइदिएकी छिन् ।

विद्या बालनको ‘तुम्हारी सुलु’ फिल्म अहिले रिलिजको तयारीमा छ र उनी त्यसकै प्रचार प्रसारको लागि व्यस्त छिन् ।त्यही प्रचारप्रसारको एक कार्यक्रममा एकजना पत्रकारले उनलाई उनको रोल र मोटोपनलाई जोडेर प्रश्न सोधे । सुरुमा विद्या अल्मलिइन् र प्रश्न प्रष्ट पार्न अनुरोध गरिन् । पत्रकारले सोधे, ‘ तपाईंको अबको योजना यस्तै फिल्महरुमा मात्र आउने छ की आफ्नो मोटोपन घटाएर मूलधारका चलचित्रमा आउनुहुन्छ ? अर्थात् स्लिम बनेर रोमान्टिक फिल्ममा कहिले देखिनुहुन्छ ?”

विद्या बालनले ती पत्रकारलाई जवाफ दिइन् , ” म आफ्नो फिल्म र करियर रोजाइले धेरै खुशी छु । बरु, तपाईंको जस्तो सोंच बोक्ने मानिसहरुमा परिवर्तन आउनु जरुरी छ ।” उनको यो जवाफलाई सामाजिक संजाल प्रयोग कर्ता तथा उनका दर्शकले साथ दिइरहेका छन् ।

Comments