मेलबर्न। अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुको संख्या बढीरहेको छ । नेपालबाट शैक्षिक गन्तव्य बनाउंदा अधिकतम विद्यार्थीहरुले अष्ट्रेलियालाई गन्तव्य बनाइरहेको डाटा समेत सार्वजनिक भइसकेको छ । उक्त डाटा अनुसार, यस वर्ष विदेश पढ्न आउने विद्यार्थी मध्ये ४९ प्रतिशतले अष्ट्रेलियाको लागि अनुमति लिएका छन् ।

अष्ट्रेलियाको प्राकृतिक वातावरणसंगै भौतिक सुविधा, राम्रो पढाइ, कोर्समा विविधता, करियरको अवसर आदी कारणले गर्दा अष्ट्रेलियाप्रति नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको छ । र, चलिरहेको अवस्था हेर्दा, अष्ट्रेलिया आएका विद्यार्थीहरु यतै पी.आरको लागि मेहनत गर्न थाल्छन् र नेपाल फर्किंदैनन् भन्ने मान्यता छ। तर, पछिल्लो समयमा भने विद्यार्थीहरुको मनस्थिति बदलिन थालेको पाइएको छ ।

अष्ट्रेलियामा होटल म्यानेजमेन्ट पढ्दै गरेका पोखराका सविन गुरुङ भन्छन्, ” +२ को पढाइ सकेपछि, म होटल म्यानेजमेन्ट पढ्न अष्ट्रेलिया आएको हूँ । पढाइ संगै अष्ट्रेलियाले मलाई धेरै कुरा सिकाएको छ । आत्मनिर्भर बनेर म स्वाभिमानी बन्न सिकेको छु। त्यसैले आफूले पाएको यो सम्पूर्ण ज्ञानलाई नेपालमै गएर उद्धमी बनी स्वाभिमानी देश बनाउनको लागि आफ्नो भूमिका निर्वाह गर्न चाहन्छु। ”

त्यस्तै, अष्ट्रेलियामा नर्सिङ्ग पढ्दै गरेकी विराटनगरकी रन्जु उप्रेती भन्छिन् , ” मानिसहरु विदेशमा बस्न वा विदेशमा बस्ने केटासंग विवाह गर्नको लागि नर्सिङ्ग पढ्ने भन्ने सोंच्छन् । तर, म यो सोंचलाई गलत सावित गर्न चाहन्छु। मैले यहाँ सिकेको सम्पूर्ण ज्ञानलाई नेपालमा लगेर उपयोग गर्न चाहन्छु।”

यस्ता सोंच भएका युवाहरु अष्ट्रेलियामा हुने जमघटहरुमा प्रशस्तै भेटिन थालेका छन् । नेपालका राजनीतिक व्यक्तीहरुले यी युवाहरुको सोंच र भावनाको कदर गर्ने र सबै तर्फबाट उचीत वातावरण बनाउन सक्ने हो भने, अष्ट्रेलियालाई पढाइको गन्तव्य बनाएका विद्यार्थीहरुले करियर र आफ्नो जीवनको गन्तव्य नेपाललाई नै नबनाउलान् भन्न सकिन्न ।

Comments

comments