भोजपुर । भोजपुर पूर्वको ‘कर्णाली’ भनेर चिनिने यो जिल्लामा विकासको मुद्दाले पहिलो प्राथमिकता पाएको छ । पहिलो चरणको निर्वाचनमा विकासका नारा लिएर कांग्रेस, माओवादीेका उम्मेदवारले मुख्य गरी सदरमुकाम जोड्ने सडक कालोपत्रे प्रतिबद्धता व्यक्त गरेका छन् ।

लेगुवा–भोजपुर ५४ किलोमिटर सडक कच्ची भएकाले वर्षभरि गाडी चल्न मुस्किल हुन्छ । त्यसकारण सडक कालोपत्रेको मुद्दा मुख्य गरी उठेको हो । यसमा मतदाता र उम्मेदवारको मुख्य चासो छ ।

प्रतिनिधिसभामा एक क्षेत्र भएको यो जिल्लामा लोकतान्त्रिक गठबन्धनले कांग्रेसका उमेशजंग रायमाझी र वाम गठबन्धनले माओवादीका सुदन राईलाई उठाएका छन् ।

दुई गठबन्धनका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने आकलन छ । रायमाझीलाई संघीय फोरम र दुई राप्रपाले समर्थन गरेका छन् । राईलाई एमालेले समर्थन गरेको छ । स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन ९ हजार ३० मतले अगाडि छ ।

विगतका सबै निर्वाचनमा वाम गठबन्धनले जित्दै आएको यो किल्ला तोड्न रायमाझीलाई र साख जोगाउन राईलाई चुनौती छ । उनीहरू दुवैले जितका लागि स्थायी सरकारसहितको पूर्वाधार विकासलाई मुख्य मुद्दा बनाएका छन् । रायमाझीले जलस्रोत, पर्यटन र कृषि विकास तथा प्रवद्र्धन गरी रोजगारी सिर्जनालगायत योजना अघि सारेको बताएका छन् । ‘विकास मेरो मुख्य मुद्दा हो, सडक र विद्युत् विस्तार तीव्र पार्नुपर्छ,’ उनले भने ।

राईले चाँडै पार्टी एकता गरेर निर्माणाधीन पूर्वाधार विकासका योजनालाई निरन्तरता दिने र आिर्थक समृद्ध जिल्ला निर्माण गर्ने योजना लिएर मतदाता फकाउँदै छन् । ‘सडक मुख्य समस्या हो, यसको विकास मेरो मुद्दा हो,’ उनले भने ।

Comments

comments