काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभागका एक अधिकृत र नायव सुब्बालाई १० लाख घुससहित पक्राउ गरेको छ।

मंगलबार साँझ काठमाडौँको नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट वैदेशिक रोजगार विभागका अधिकृत कीर्तिबल्लभ पौडेल र विभागकै नायव सुब्बा खडकबहादुर केसीलार्इ १० लाख घुससहित पक्राउ गरेको हो ।

एकजना म्यान पावर व्यवसायीको ठगी मुद्दा मिलाइदिन भन्दै दुवैजनाले घुस मागेका थिए । १५ दिनअघिबाट उनीहरुले ती म्यान पावर व्यवसायीसाँग १५ लाख रुपैयाँबाट बार्गेनिङ थालेका थिए ।

अख्तियारका अनुसार म्यान पावर व्यवसायीले १० लाख रुपैयाँ दिन तयार भएपछि त्यही पैसा लिन दुवैजना इन्द्रेणी फुडल्यान्ड पुगेका थिए ।

अख्तियारबाट नाम गोप्य राखिएका ती म्यान पावर व्यवसायीले आफ्नो गल्तीबिना नै घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएका थिए । उनले उजुरी दिएपछि अख्तियारले दुवैजनालाई घुससहित समातेको हो ।

पक्राउ परेका दुवैजनालाई घुस लिएको नोटको मुचुल्का उठाएर थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिँदैछ ।

तीन वर्षमा पाँचौ अपरेशन

अख्तियारका अनुसार तीन वर्षको बीचमा वैदेशिक रोजगार विभागमा भएको यो पाँचौ अपरेशन हो । यसअघि पनि वैदेशिक रोजगार विभागका एक अधिकृत १० लाख घुससहित समातिएका थिए ।

आठ महिना अघि विभागका शाखा अधिकृत रमेश लामिछाने म्यान पावर व्यवसायीबाटै १० लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ परेकाा थिए । घुससहित रंगेहात पक्राउ परेका मुद्दामा अख्तियार अहिलेसम्म ९९ प्रतिशत सफल हुँदै आएको छ ।

घुससहित पक्राउ परेका कर्मचारी स्वतः निलम्बन हुनछन् भने सरकारबाट सञ्चयकोषमात्रै लिन पाउँछन् । उनीहरुलाई पेन्सन र उपदान पनि दिइँदैन ।

Comments

comments