मेलबर्न। भिसा समायावधि लम्ब्याउने प्रस्ताव सहित आएको अष्ट्रेलियाको नयाँ अभिभावक भिसाको प्रस्ताव अझै पास हुन सकेको छैन। गत मे मा ल्याइएको सो प्रस्ताव यही नोभेम्बरमा पास भएर प्रक्रियामा आउने बताइएको थियो।

अध्यागमन विभागका अनुसार नयाँ अभिभावक भिसाको प्रस्ताव यही हप्ता संसदमा पेश गरिएको छ र मंगलबार त्यसमाथि छलफल हुनेछ। उक्त छलफलबाट प्रस्ताव पास भएमा यही वर्षको अन्त्यबाट फेरिएको भिसा प्रक्रिया सुरु हुनेछ।

अभिभावक भिसामा के छ नयाँ प्रस्ताव ?

नयाँ प्रस्ताव अनुसार बर्षको १५,००० जनाले मात्र यस्तो भिसा प्राप्त गर्नेछन् । यसकालागि भिसा शुल्क २०,००० डलर लाग्नेछ । आफ्ना अभिभावकको औषधि उपचार खर्च, स्वास्थ्य बीमा लगायतका खर्च भने छोरा छोरीले नै व्यहोर्नुपर्नेछ ।

यो भिसा अन्तर्गत तीन वर्ष, पाँच वर्ष र दश वर्ष अवधि रोज्न पाईनेछ । तीन वर्षे भिसाको शुल्क ५,००० डलर, पाँच वर्षको लागि १०,००० डलर र दश वर्षको लागि २०,००० डलर शुल्क रहनेछ ।

यसरी अष्ट्रेलिया आएका अभिभावकहरुले परिवारको बाहेक आम्दानीको लागि बाहिरको कुनै पनि काम गर्न पाउने छैनन् । माइग्रेन्ट विशेषज्ञहरुले भने यो अस्थायी भिसाको लागि तोकिएको शुल्क महँगो भएको प्रतिक्रिया दिएका छन् ।

Comments

comments