काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीको ३० वर्षे सेवाअवधि हटाउने प्रस्तावलाई लोकसेवा आयोगले अस्वीकार गरिदिएको छ ।

राष्ट्र बैंकमा सेवा सुरु गरेको ३० वर्ष वा उमेरहद ५८ वर्ष जुन अघि हुन्छ, त्यसबेला कर्मचारीले अवकाश पाउने व्यवस्था छ ।

सो व्यवस्था संशोधन गरी ५८ वर्षमा अवकाश पाउने व्यवस्था गर्न राष्ट्र बैंकले पस्ताव गरेको थियो । सो व्यवस्थासहितको कर्मचारी विनियमावली राष्ट्र बैंकको सञ्चालक समितिबाट पारित गरी स्वीकृतका लागि लोकसेवा आयोगमा पठाइएको थियो ।

अहिले संघीय निजामती ऐनलगायत कानूनहरु संशोधनको प्रक्रियामा रहेका र सरकारले केन्द्रीय अवकाश नीति बनाउँदै गरेको सन्दर्भमा राष्ट्र बैंकमा मात्रै अवकाश उमेरका सन्दर्भमा छुट्टै व्यवस्था गर्न नहुने लोकसेवा आयोगको मत रहेको प्रवक्ता लक्ष्मीविलास कोइरालाले बताए ।

३० वर्षे सेवाअवधि हटाएर निजामती कर्मचारीको जस्तै ५८ वर्षे उमेर हद कायम गर्ने निर्णय गरेको थियो ।

Comments

comments