काठमाडौँ । रसिक र ठट्यौली शैलीमा भाषण गर्न सिपालु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार गृहजिल्ला झापामा फरक विषयलाई एजेन्डा बनाए ।

झापाको ग्वालडुब्बामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भाषण गर्ने क्रममा एमाले अध्यक्ष ओलीले आर्थिक क्षेत्र र सेयर मार्केटलाई निशाना बनाए ।

सेयर बजार केही महिनादेखि निरन्तर ओरालो लागिरहेका बेला त्यसको दोष नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई लगाएपछि ओलीले त्यसको कडा जवाफ दिएका हुन् ।

सेयर बजार घटेको दोष कम्युनिस्टलाई लगाउने केही बुद्धिजीवी र अर्थशास्त्रीहरुलाई अध्यक्ष ओलीले ‘बुद्धि बिग्रेका’ हरुको संज्ञा दिए ।

‘बुद्धि बिग्रेका केही अर्थशास्त्रीहरु सेयर बजार घटेको दोष कम्युनिस्टलाई दिँदैछन्’, ओलीले भने, ‘किताबको अर्थशास्त्र बुझेका तर देशको अर्थशास्त्र नबुझेकाहरु कम्युनिस्ट मिल्दा सेयर घट्यो भन्छन्, यो वाहियात हल्ला मात्रै
हो ।’

अध्यक्ष ओलीले विदेशमा पढेका तर देश नबुझेका केही दिवालिया अर्थशास्त्रीहरुले अधिनायकवाद आउँछ भन्ने हल्ला चलाएको पनि गुनासो गरे ।

‘विदेशको विश्वविद्यालयमा पढेका पुराना र म्याद गुज्रेका अर्थशास्त्रीहरु अहिले अधिनायकवाद आउँछ भनेर हल्ला चलाउँदैछन्’, ओलीले भने, ‘वामपन्थी गठबन्धन भयो भने नेप्से परिसूचक घट्छ र आर्थिक तरलता आउँछ भन्ने बुद्धि टाट पल्टेका अर्थशास्त्रीहरुका कुरा सुन्दा पनि हाँसो उठ्छ ।’

वाम गठबन्धन बनेपछि सेयर बजार घट्यो भन्नेहरुलाई बुद्धि टाट पल्टेका अर्थशास्त्रीको संज्ञा दिँदै ओलीले यस्ता कुरा देशका ३८ वटा उद्योग बेचेर खाने नकचरा अर्थशास्त्रीहरुले मात्रै गर्ने बताए ।

अध्यक्ष ओलीले बुद्धि बिग्रेकाहरुले आरोप लगाए पनि वाम गठबन्धनपछि अगाडि बढिसकेको जिकिर गरे । ‘ देशलाई राजनीतिक–आर्थिक स्थायित्व दिन वाम गठबन्धन भएको हो’, ओलीले भने, ‘अब हामी देशमा हजर किलोमिटर भन्दा लामो रेलमार्ग र ६ लेनको सडक बनाउँदैछौँ । देशले विकासको फड्को मार्छ ।’

Comments

comments