काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ९ गते एमाले–माओवादीबीच एकीकरण हुने कुरा हल्ला मात्रै भएको बताएका छन् ।

झापाको ग्वालडुब्बामा आयोजित चुनावी सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव अगाडि पार्टी एकता हुने कुनै योजना नरहेको प्रष्ट पार्नुभयो ।

‘ नौ गते पार्टी एकता हुँदैछ रे भनेर साथीहरुले मलाई फोन गर्नुभयो’, ओलीले भने, ‘म त छक्कै परेँ, वाम एकता हुन लागेका बेला यस्तो हल्ला चलाएर निर्वाचनबाट फाइदा लिन खोजिँदैछ ।’

नौ गते एकीकरण हुने हल्लाबारे आफूले आइतबारै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गर्दा उहाँ पनि छक्क परेको बताए । ‘मंसिर नौ गते हाम्रो पार्टी एकता हुँदैछ रे नि भनेर मैले प्रचण्डजीलाई फोन गरेर सोध्दा हाँस्नुभयो’, ओलीले भने, ‘प्रचण्डजीलार्इ पनि मैले भनेपछि थाहा भएछ । नौ गते एकता हुने हल्ला चलाएर १० गते निर्वाचन भएपछि एकता गर्न सकेनन् भन्दै वामपन्थीबीच फाटो ल्याउने कोशिश भएको छ ।’

अध्यक्ष ओलीले घुमाउरो पारामा कांग्रेसतर्फ प्रहार गर्दै आफ्नो कथा आफैँ बनाउनेले हल्ला चलाएको बताए । ‘आफ्नो कथा बनाउने, आफैँ कथा बाचन गर्ने र आफैँ सुन्ने गरी हल्ला चलाइएको छ’, ओलीले भने, ‘एकीकरण गरिन्छ भनेर हल्ला चलाएर दक्षिणपन्थीहरुले फाइदा लिन खोजेका छन् ।’

ओलीले एकता हुनेमा शंका नरहेको बताउँदै तर त्यो प्रक्रिया निर्वाचनपछि मात्रै अघि बढ्ने प्रष्टोक्ति दिए ।

Comments

comments