रोल्पा । रोल्पाबाट प्रतिनिधिसभाका लागि उठेका माओवादी केन्द्रका नेता बर्षमान पुनसहितका नेता चढेको गाडी जिल्लाको सुकीदह गाउँपालिकाबाट घर्तीगाउँतर्फ हान्निँदैथियो ।

एमालेसँग वाम गठबन्धन भएपछि उत्साहित बनेका माओवादी नेताहरु आफ्नो प्रभाव क्षेत्र तथा जनयुद्धको उद्गम थलोमा चुनाव सहजै जित्ने विश्वासका साथ प्रचार अभियानमा होमिएका थिए ।

शुक्रबार मात्रै रुकुमको चौरजाहरीमा अर्का माओवादी नेता जनार्दन शर्मा प्रभाकर चढेको गाडीमा बम हानिएपछि रोल्पामा पनि सुरक्षा सतर्कता बढाइएको थियो ।

माओवादी केन्द्रका नेतारुहमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका कार्यकर्ताबाट ‘थ्रेट’ थियो । सुरक्षा सतर्कता बढाइएकै बेला विप्लवका कार्यकर्ताले नेता पुन चढेको गाडीलाई ‘जनयुद्ध’ मा जस्तै छापामार शैली अपनाउँदै एम्बुसमा पार्ने प्रयास गरे ।

रोल्पका अन्य चर्चित माओवादी नेतासहित पुनको टोली सुकीदह गाउँपालिकाको चुनावी कार्यक्रम सकेर घर्ती गाउँतर्फ अघि बढिरहेको थियो । नेता पुन पूर्वमन्त्री पनि भएकाले सशस्त्र र जनपथको दुईवटा सुरक्षा टोलीको गाडीले स्कर्टिङ पनि गरिरहेको थियो ।

पुनसहित माओवादी नेताहरुको टोली शनिबार बिहान १० बजेको समयमा माडी गाउँपालिका–१ भित्ताबाङ गाउँ नजिकको जङ्गलमा पुगेका बेला एक्कासी एम्बुस विस्फोट भएको थियो । नेता पुन चढेको गाडी पत्ता लगाएरै विप्लवका कार्यकर्ताले एम्बुस थापेका प्रहरीको सुरुवाती अनुसन्धानले देखाएको छ ।

ठुलो आवाजसहित एम्बुस विस्फोट भए पनि बर्षमान मुस्किलले जोगिए । ‘मुस्किलले मेरो ज्यान जोगिएको छ’, घटनापछि जनता समाचारसँग टेलिफोनमा प्रतिक्रिया दिँदै पुनले भने, ‘लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदा ज्यान लिन खोजियो, तर पनि मेरो अभियान रोकिँदैन ।’

बर्षमान चढेको गाडी नजिकै सडकको माथ्लो भित्तामा एम्बुस विस्फोट भएको थियो । यदि त्यो एम्बुस सडकको बीचमा राखेर विस्फोट गराएको भए ठुलो क्षति हुने अवस्था रहेको त्यहाँका प्रत्यक्षदर्शीले बताएका छन् ।

बर्षमानसँगै चुनावी अभियानमा वाम गठबन्धनका अन्य नेताहरु गोकुल घर्ती, दिपेन्द्र पुन, जयपुरी घर्ती, ईश्वरी घर्ती र हरिप्रसाद घर्ती पनि थिए । सुरक्षाकर्मीकासहित करिब ८ वटा गाडीमा नेता कार्यकर्ता घर्तीगाउँतर्फ जाँदैथिए ।

शुक्रबार सुकीदह गाउँपालिकामा चुनावी सभा सकेपछि आइतबार तय गरिएको कार्यक्रमका लागि नेताहरु प्रचार टोलीसहित घर्तीगाउँतर्फ जाँदै गर्दा एम्बुसमा पार्न खोजिएको हो ।

एम्बुस विस्फोटमा कुनै क्षति नभए पनि विप्लव माओवादीले माओवादी केन्द्रका नेताविरुद्ध आक्रमण बढाउने संकेत दिएको छ । आफू लक्षित एम्बुस विस्फोटपछि नेता पुनले देशैभर उम्मेदवारको सुरक्षा बढाउन आग्रह गरेका छन् ।

किन गरियो आक्रमण

निर्वाचनविरुद्ध अभियान चलाइरहेको विप्लव नेतृत्वको नेकपा माओवादीका दुईजना नेतालाई प्रहरीले केही दिनअघि पक्राउ गरेर हिरासतमा लिएको थियो ।

विप्लव माओवादीका रोल्पा ईन्चार्ज दलबहादुर खत्री ‘जागृति’ र सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले जिल्लाको सुवर्णवती गाउँपालिकास्थित मिजिङबाट पक्राउ गरेर हिरासतमा लिएर उनीहरुका कार्यकर्ता आक्रोशित भएका थिए ।

विप्लवका कार्यकर्ताहरुले आफ्ना दुई नेता गिरफ्तार गराउन माओवादी केन्द्रका नेताहरुको हात रहेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए । आफ्ना कार्यकर्ता पक्राउ गराउने निर्देशन माओवादी नेता पुनले दिएको आरोप पनि उनीहरुले लगाएका छन् ।

यिनै दुईवटा कारणले पुनलाई विप्लवका कार्यकर्ताले एम्बुसमा पार्ने कोशिश गरेका हुन् । विप्लव माओवादीका कार्यकर्ता आक्रमक हुन थालेपछि स्थानीय प्रशासनले उम्मेदवार र चुनावलक्षित सुरक्षालाई बलियो बनाउने जनाएको छ।

 

Comments

comments