-कामना न्यौपाने

“म जब बच्ची नै थिएँ, त्यतिबेला छिमेकी अङ्कलले मलाई समाउँथे र मेरो शरीरमा हात डुलाउन थाल्थे । ट्युसन टिचरले मेरो ट्राउजरभित्र हात लैजान खोज्थे । तर म, यी सबै कुरा परिवारलाई भन्न डराउँथें । भनेको भए पनि, सायद उनीहरुले विश्वास गर्दैनथे, या गम्भीर रुपले लिने थिएनन् ।“ एक भारतीय टेलिभिजन अभिनेत्रीले, अहिले सामाजिक संजालमा चलेको हिंसा विरुद्धको अभियान #metoo मा समर्थन र सहभागिता जनाउंदै गरेको ट्वीट हो यो ।

किशोरी तथा युवतीहरु रात्रिबसमा यात्रा गर्दैनन्, किनकी उनीहरु रातसंग होइन, रातको बाहानामा उनीहरुको शरीरमा सल्बलाउन खोज्ने दानवहरुका हातहरुले गर्दा डराउँछन् । उनीहरु हरेक पुरुषमाथि शंका गर्छन्, किनकी उनीहरुले विश्वास र सम्मान गर्ने व्यक्तिले नै आफूमाथि कुदृष्टी लगाएको अनुभवलाई मनभित्र गुम्साईरहेका हुन्छन् । एक्लै भएको बेलामा, रातको समयमा वा यात्रा गर्दा, आफूलाई सम्मान र भद्र व्यवहार गर्ने पुरुषलाई ’भगवान जस्तो मान्छे रहेछ“ भन्दै श्रद्धा गर्छन्, किनकी मान्छे नामका राक्षसहरुले घरबाट निस्कने उनीहरुको पाइला समेत गह्रौं बनाइदिइरहेका छन् ।

यसै वर्ष, यात्राको लागि रात्रीबसमा हिड्नुपर्ने बाध्यता भयो । म बसेको सिटको साइडमा मेरै उमेरको युवा बसेको थिए । राती हुन थालेपछि उनको हातको भागले मेरो शरीर छोइएको महसुस गरें । संगै बस्दा हातले लाग्नु वा शरीर जोडिनु स्वाभाविक हो भनेर मैले बेवास्ता गरें, कसैले त्यसरी नियतवश नछोएको पनि त हुन सक्छ । बिहानैदेखिको यात्राले थकित म, निदाएँछु । तर एकै छिनमा, झस्किएँ । ती युवाका औंला मेरो शरीरलाई स्पर्श गर्न खोज्दै थिए । मेरो अघिको मौनतालाई उनले मलाई छुन पाउने स्वीकृति पो ठानेछन् की ? रिस उठ्यो, हप्काएँ । उनले माफी मागे र मलाई नछोइने गरी बसे । अँ, उनले गाडीमा बसेपछि भनेका थिए, उनी प्रहरी सेवामा काम गर्दैछन् । अब मैले त्यहाँ कोसंग सुरक्षा माग्नु ?

म अझै पनि सम्झिन्छु,म सानै छंदा मलाई हेर्ने ती राक्षसी नजर र अहिले बोल्न सक्ने भएपछि पनि आउँछन् यात्रा गर्दा बसमा, बिहान कलेज जाँदा सडकमा छुन खोज्ने ती हात, ती कुहिना, र्यालीमा, मेलामा । बस्, उनीहरुलाई बाहना चाहिएको छ, कसैको आत्मसम्मानलाई हिर्काएर, आफ्नो पुरुषत्व देखाउने । कुनै बालिकालाई उसको परिवारको सदस्य बाहेक अरु पुरुषले सुम्सुम्याउदैछ भने, मेरो छाती डरले भरिन्छ र आँखा शंकाले । डर, त्यो बालिकाको मानसिक विकासको लागि । र, यो ’ सबै पुरुष खराब हुन्छन् ’ भन्ने मानसिकता होइन । यो डर र शंका, मलाई यो समाजले दिएको वातावरणको उपज हो । मैले भोगेको, देखेको र सुनेको घटनाहरुको परिणाम हो ।

मेरो जस्तो अनुभव र डर, हाम्रो समाजका हरेकजसो महिलामा छ । मात्र सबै मौन छन् । अनुसन्धान गर्नकोलागि डाटा निकाल्न नै जाने हो भने पनि, सबैले साँचो बोल्दैनन् र अहिलेसम्मका केही डाटाहरु हेर्दा पनि त्यही देखिन्छ । उनीहरु बोल्दैनन् , किनकी हामीले महिला र पुरुषको शरीरलाई यसरी बुझेका र बुझाएका छौं की, महिलाको शरीर भनेको ’ लाज’ हो र पुरुषको शरीर भनेको ’पुरुषत्व’ वा ’गर्व ’ हो । यहाँ कोही केटीले बाटोमा हिंडिरहेका केटीहरुलाई जिस्काउँदै हिंड्छ भने, ऊ ’हिरो’ कहलिन्छ र यदि, कुनै केटी शारीरिक हिंसाको शिकार भई, त्यस्तै कुनै परिस्थितिवश श्रीमान वा प्रेमीसंग छुट्टीई भने पनि ’चरित्रहीन’ कहलिन्छे । अनि कानून ? बलात्कारका घटना त आपसी मिलेमतोमा मिलाउन खोज्ने, लुकाउने, प्रमाणकै खोजीमा समय गएर मुद्दा नै सेलाउने हाम्रो देशमा, कहाँबाट ल्याउनसक्छे उसले, बाटोमा हिंड्दै गर्दा, कसैले उसको छातीमा हात लगाएर गएको प्रमाण ?

यहाँ कानूनकै कुरा गर्दा, महिलाको शरीरको अधिकार महिला स्वयंलाई मात्र हुन्छ भनेर श्रीमानले समेत जबर्जस्ति गरेमा करणी ठहरिने र कारबाही हुने कानून हाम्रो देशमा आइसक्यो । तर हाम्रै समाजमा चाहिं, महिलामाथि उसको श्रीमानले मात्र होइन समाजका कैयौं पुरुषहरुले आफ्नो अधिकार ठान्छन् र अधिकार जमाउन खोज्छन् । तपाईंले आफ्नो परिवारका महिलाहरुलाई तपाईंले साथ दिनुहुनेछ, कुनै पनि लज्जाबोध र हीनताबोध गर्नुपर्दैन भनेर उनीहरुलाई विश्वास दिलाएर सोध्नुभयो भने, यस्तो हिंसामा नपरेको सदस्य सायदै नहोला । #metoo अभियानले विकसित र कानुनी रुपमा बलियो बनेका देशहरुमा पनि यस्ता घटना प्रशस्त भएको बाहिरिएको छ । यसबाट पनि प्रष्ट हुन्छ की, समस्या कानूनमा होइन, हाम्रो सोंचमा छ । परिवर्तनको आवश्यकता, कानूनमा भन्दा पहिले, हाम्रो विचार र संस्कारमा छ ।

राम्रो व्यवहार गर्नको लागि राम्रो सुझाव दिंदा समेत हामी भन्ने गर्छौं की, “ त्यो महिला पनि तिम्रो दिदी, बहिनी, आमा वा छोरी जस्तै हो “। यो त दया हो र, यहाँ फेरी पनि उसको परिचय र रक्षाको सवाल समेत कुनै पुरुषसंग जोडिएको छ । हे ! आफैले उसलाई ’ईज्जत’को नाम दिएर, त्यही ईज्जतको लीलामी गर्न तम्सिने र रमिते बन्ने मनुवाहरु हो, कहिले स्वीकार्छौ ? ऊ आफै कोही हो । ऊ आफै ’मानिस’ हो । उसको आफ्नै परिचय छ, उसको आफ्नै आत्मसम्मान छ, उसको आफ्नै अधिकार छ, उसको आफ्नै क्षमता छ र उसको आफ्नै अस्तित्व छ, जति तिम्रो छ ।

Comments

comments