काठमाडौं । दुई चरणमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मधेसवादी दलका नेताहरू तीव्र गतिमा चुनाव प्रचारप्रसार लागे पनि उहाँहरूका हातमा चुनावी घोषणापत्र भने देखिएको छैन ।

प्रमुख ठूला दलका नेताहरू मतदाताको घरदैलोमा जाँदा घोषणापत्र साथमा लिएर गइरहनुभएको छ तर मधेसवादी दलका नेताहरू खाली हात आश्वासन बाँड्दै मतदातासमक्ष जानुहुन्छ । नेपाली कांग्रेस, वाम गठबन्धन, नयाँ शक्ति, दुवै राप्रपा र विवेकशील साझा पार्टी पनि आ–आफ्ना चुनावी घोषणापत्र तथा प्रतिबद्धतापत्रसहित मतदाताको घरदैलोमा पुगे पनि मधेसवादी दलहरूको घोषणापत्र मतदाताले पढ्न पाएका छैनन् ।

प्रदेश–२ का लागि चुनावी तालमेल गरेका सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू हालसम्म जनताको घरदैलोमा बिना घोषणापत्र गइरहनुभएको छ । सिरहा–४ मा चुनावी प्रचार प्रसारमा रहनुभएका राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भन्नुभयो, ‘घोषणापत्रको के भयो मैले पनि बुझ्न सकेको छैन, घोषणापत्र तयारी गर्ने कुरा थियो, त्यसको बारेमा छलफल पनि भएको हो तर अझै टुङ्गो लागेको छैन । अब चाँडै ल्याउने प्रयास हुनेछ । ’
चुनावी घोषणापत्र छैन, के भनेर जनतासँग मत मागिरहनुभएको छ त ? भन्ने जिज्ञासामा उहाँले घोषणापत्र भनेको लिखित दस्तावेज हो भन्दै त्यही कुरालाई मौखिक रूपमा भनिरहेको प्रतिक्रिया दिनुभयो ।

संविधान संशोधनलगायत मधेसका समाजिक विषयवस्तु, आर्थिक मुद्दा र विकासका मुद्दा मतदातासमक्ष राख्ने गरेको बताउँदै उहाँले चाँडै नै मतदाता समक्ष लिखित घोषणापत्र लिएर जाने प्रतिबद्धता जनाउनुभयो ।

सर्लाही–२ मा चुनावी प्रचारमा लाग्नुभएका अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र राय यादवले घोषणापत्र तयार भइरहेको बताउनुभयो तर त्यो घोषणापत्र कहिले आउँछ भन्ने चाहिँ बताउन सक्नुभएन । उहाँले भन्नुभयो, ‘घोषणापत्रविना चुनावमा कसरी जाने ?’ लिखित दस्ताबेजको रूपमा जनतालाई देखाउनै प¥यो, लिखित भयो भने एउटा विश्वासको वतावरण तयार हुन्छ । ’

काठमाडौंमा रहनुभएका पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले घोषणापत्रसम्बन्धमा अन्योल रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, ‘घोषणापत्र लिएर चुनावमा जानुपर्ने हो तर हालसम्म त्यो तयार भएको छैन, कहाँ कसले तयार गरिरहेका छन् मलाई केही पनि जानकारी छैन । ’

राजपा नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन् । यी दुईटै दलको संयुक्त घोषणापत्र आउने कुराकानी भएकोमा हालसम्म त्यसको टुङ्गो नलागेको झाले बताउनुभयो । तर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रूपमा घोषणापत्र तयार गर्ने त्यस्तो कुनै कुराकानी नभएको बताउँदै आफ्नो दलले भने घोषणापत्र तयार गरिसकेको र एकदुई दिनमा जारी हुने बताउनुभयो ।

Comments

comments