मेलबर्न । अष्ट्रेलियामा नेपालीहरुले संचालन गरेका शैक्षिक संस्थाहरुले राम्रो उपलब्धि हासिल गरिरहेका छन् । जसले गर्दा नेपालबाट स्टुडेन्ट भिसामा जाने विद्यार्थीहरुलाई पनि सहयोग पुगिरहेको छ । यस्तै शैक्षिक संस्था मध्येको एक हो, सिड्नीमा रहेको’हाम्रो इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी’ अर्थात् एचआइबिटी । एचआइबिटीलाई ’हाम्रो कलेज’ नामले समेत चिनिन्छ ।

हाम्रो कलेजले हालै मात्र चौथो वार्षिक उत्सव मनाएको छ । रक्डेलको इन्द्रेणी फङ्सन सेन्टरमा आयोजित भव्य वार्षिक उत्सव कार्यक्रममा संस्थाका विद्यार्थी,अभिभावक लगायत समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्णलाई संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक खनालले स्वागत गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

डाइरेक्टर अफ स्टडिज डा. जगदीश तिम्सिनाले सम्बोधन गर्दै आफ्नो कक्षामा नियमित उपस्थित हुने,असाइन्मेन्ट समयमै गर्ने, अनुशासित रहने र आफ्नो पढाइको उद्देश्यलाई गम्भीरता दिएर लाग्ने विद्यार्थीकालागि अष्ट्रेलियामा स्टुडेन्ट भिसामा कुनै समस्या नहुने बताउनुभयो । तिनै विद्यार्थीहरुका सपना पनि साकार हुने उहाँको कथन थियो । डा. तिम्सिनाले विद्यार्थी र शिक्षक मिलेर हाम्रो कलेजको गुणात्मक परिणाम निकाल्न सकिने बताउनुभयो ।

कार्यक्रममा कलेजले विभिन्न विधामा राम्रो प्रदर्शन गरेका विद्यार्थी तथा कर्मचारीलाई सम्मान समेत गरेको थियो । त्यस्तै कलेजले ’स्टुडेन्ट अफ द इयर’,’एचआइबिटी आइडल स्टुडेन्ट’, ’बेस्ट स्टाफ अफ द इयर’, ’ बेस्ट ट्रेनर अफ द इयर’ अवार्ड पनि प्रदान गरेको थियो । विद्यार्थीहरुद्वारा प्रस्तुत गरिएको सांस्कृतिक प्रस्तुति, हाँस्य व्यंग्य, डिजे म्युजिकले कार्यक्रमको माहोल थप रंगीन बनेको थियो ।

हाम्रो कलेजले बिजनेस,अकाउन्टिङ, लिडरशीप र आइटी विषयलाई प्राथमिकता दिदै आएको छ । पढाइको साथसाथै कलेजमा विभिन्न, शैक्षिक, खेल, सांगीतिक आदि विधाका अतिरिक्त क्रियाकलापको आयोजना पनि गरिन्छ । अहिलेसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै हाम्रो कलेजले यसलाई अझ प्रभावकारी बनाउदै लैजाने प्रतिवद्दता समेत व्यक्त गरेको छ ।

Comments

comments