रुकुम । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा प्रभाकर चढेको गाडीमा बम प्रहार भएको छ ।

वाम गठबन्धनबाट रूकुममा प्रतिनिधि सभाका उम्मेदवार तथा विना विभागीय मन्त्री शर्मा सवार गाडीलार्इ नै लक्षित गरी जिल्लाको चौरजहारी नगरपालिका वडा नं. ८ स्थित गोइरीमा २ वटा घरेलु बम हानिएको हो ।

चौरजहारीमा चुनावी अभियान सकेपछि सँगैको सानीभेरी गाउँपालिकास्थित सिम्ली जाने क्रममा शर्माको चुनाव प्रचार टोलीलार्इ सडकभन्दा माथिबाट दुर्इवटा बम हानिएको हो ।

प्रचार टोलीले अन्य गाडी चढे पनि शर्मा सवार गाडीलार्इ नै लक्षित गरी बम हानिएको जिल्ला प्रहरी कार्यालय रूकुमले जनाएको छ । शर्माको गाडीलार्इ लक्षित गरी हानिएकामध्ये एउटा बम पड्किएन भने अर्को पड्किएको थियो ।

सुरक्षाकर्मीको स्कर्टिङसमेत रहेको अवस्थामा बम प्रहार गरिएको हो । घटनाबारे जानकारी प्राप्त भएको बताउँदै जिल्ला प्रहरी कार्यालय रूकुमका डिएसपी राजेन्द्रप्रसाद धमलाले बम हान्ने समूहको खोजी भइरहेको जानकारी दिए ।

Comments

comments