काठमाडौं । १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही शीर्ष नेता ‘रिङ आउट’को जोखिममा देखिएका छन् । एकै क्षेत्रबाट निर्वाचनमा होमिएका वाम गठबन्धन वा कांग्रेसका शीर्ष नेतामध्ये कुनै एकले मात्र संसद्को यात्रा तय गर्नेछन् ।

प्रदेश १ को झापा–१ मा चुनावी अभियानमा खटिएका छन् वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता राम कार्की र उनलाई चुनौती दिँदै छन्, कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले । यी दुईमध्ये कुनै एकले संसद्मा आफ्नो स्थान पाउनेछन् ।

चुनावी अभियानमा खटिएका यी दुई नेताले चुनावी अभियानका क्रममा एक अर्काको प्रशंसा गर्दै जसले जिते पनि एक अर्कालाई विजयीको माला लगाइदिने बताएका छन् । अब कसले माला लगाउने हो ? त्यो भने २१ मंसिरको निर्वाचनले फैसला गर्नेछ ।

झापा–३ बाट एउटा शीर्ष नेताको पराजय निश्चित छ । यहाँ कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् । लिङ्देनलाई वाम गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले समर्थन गरेका छन् ।

यस क्षेत्रमा राप्रपा आफैंमा पनि बलियो देखिन्छ । त्यसमाथि पनि वाम गठबन्धनको साथ लिएर अगाडि बढेका उनलाई जितका लागि कम संघर्ष गर्नुपर्ने देखिन्छ ।

कांग्रेसका सिटौला व्यक्तिगत रूपमा पनि परिचित तथा राष्ट्रिय राजनीतिका प्रभावशाली व्यक्ति हुन् । शान्ति प्रक्रियामा उनको भूमिकासमेत उल्लेख्य छ । तर निर्वाचनको दौडमा लिङ्देन र सिटौलामध्ये एकको पराजय निश्चित छ ।

प्रदेश १ कै मोरङमा पनि दुई हेभी वेट भिडन्त छ । मोरङ–४ बाट निर्वाचनको दौडमा कांग्रेस नेता महेश आचार्य र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी छन् । आचार्य कांग्रेसभित्र प्रभाव छाड्न सफल युवा नेता हुन् भने माओवादी केन्द्रका मोदी संविधानसभामा एकाएक कुर्सी फोडेर चर्चामा आएका हुन् ।

त्यस्तै मोरङ–६ मा कांग्रेसका डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितको रोचक भिडन्त हुँदै छ । कांग्रेसको प्रभाव क्षेत्रमा रहेको यस क्षेत्रबाट कोइराला खानदानले लगातार जित हासिल गर्दै आएको छ ।

यसपटक पण्डित वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेर कोइरालालाई कडा टक्कर दिँदै छन् । सामान्य प्रशासनमन्त्री हुँदा ‘ग्रिनकार्ड होल्डर’ कर्मचारीलाई कारबाही गरेर चर्चामा आएका थिए पण्डित । यहाँबाट यी दुई नेतामध्ये एक जनाले मात्र संसद्सम्मको यात्रा तय गर्नेछन् ।

Comments

comments