शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले नर्सिङ्ग क्याम्पस वीरगंजले आफ्ना विद्यार्थीहरुलाई मोबाईल प्रयोगमा प्रतिबन्ध लगाएको छ । क्याम्पसको बार्षिक नतिजामा मोबाईल प्रयोगले नकारात्मक असर पारेको भन्दै मोबाईल प्रयोगमा रोक लगाइएको हो ।

मोबाईलमा व्यस्त भएर विद्यार्थीहरुले अध्ययनमा ध्यान दिन छोडेपछि क्याम्पस हातामा मोबाईल प्रयोगमा रोक लगाईएको क्याम्पस प्रशासनले जनाएको छ । गत वर्षको साउनदेखि नै विद्यार्थीहरुलाई मोबाईल प्रयोगमा प्रतिवन्ध लगाईएको नर्सिङ्ग क्याम्पस वीरगंजका निमित्त क्याम्पस प्रमुख सुनिता घोषले बताइन ।

छात्राहरुको मोबाईल प्रत्येक हप्ताको आईतबार विहानदेखि शुक्रबार साँझसम्म क्याम्पस प्रशासनले सुईच अफ गरेर राखिदिने गरेको छ । शुक्रबार साँझदेखि शनिबार दिनभरी र रातमा भने मोबाईल प्रयोग गर्न दिने गरिएको छ । क्याम्पसमा अध्ययन गर्ने छात्राहरुले भने मोबाईल प्रयोग गर्न नपाउदा व्यक्तिगत स्वतन्त्रताको हनन् भएको बताएका छन् । क्याम्पसमा पहिलो, दोश्रो र तेश्रो वर्षमा ४५÷४५ जना छात्राहरु अध्ययनरत छन् । अब अहिलेको प्रविधिसँग हिड्नु पर्ने समयमा मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउँदा कति सफलता हात पर्छ त्यो भने समयले बताउँला ।

Comments

comments