एजेन्सी । गत अक्टोबर २८ मा भर्जिनियामा एक युवतीले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई माझी औँला देखाएकी थिईन्। ती युवतीलाई अहिले जागिरबाट निकालिएको हो ।
गल्फ खेलेर ह्वाइट हाउसतर्फ फर्किँदै गरेका ट्रम्पलाई माझी औँला देखाउंदै गरेको ती महिला साइकलयात्री जुली ब्रिस्कम्यान थिईन्। ट्रम्पको मोटरकेडमा रहेका एक फोटोग्राफरले उनको फोटो खिचेका थिए, जुन लगत्तै भाइरल बनेको थियो। त्यसपछि भर्जिनियास्थित अकिमा नामक कम्पनीबाट दुई सन्तानकी आमा ५० वर्षीया उनलाई बर्खास्त गरिएको छ ।
जुलीले भने यसबाट आफूलाई कुनै दुःखेसो नभएको स्पष्ट पारेकी छन्। उनले आफू विरोधको तस्वीर बन्न पाएको खुसी रहेको पनि बताएकी छन्।कतिपयले उनको विरोधको स्वरलाई दबाउन खोजिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। यद्यपि भर्जिनियामा रोजगारदाताको इच्छाअनुसार कर्मचारीलाई जुनसुकै बेला बर्खास्त गर्न सक्ने कानुनी व्यवस्था छ।

Comments