काठमाडौं । पूर्व राष्ट्रपति डा रामवरण यादवलाई हाल सरकारले उपलब्ध गराइरहेको घरका धनीले घर खाली गराइदिन १५ दिने अल्टिमेटम दिएका छन् ।

घरधनी रविभक्त विष्टले राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना नै प्रकाशित गरी घर खाली गराइदिन अल्टिमेटम दिएका हुन् । राष्ट्रपति कार्यालय शितलनिवास काठमाडौं तथा पूर्व राष्ट्रपति रामवरण यादवको नाममा जारी गरिएको सूचनामा घरधनी विष्टले २०७४ साउन १ देखि घर वहाल सम्झौता नविकरण नगरी बहाल रकम तथा विजुलीको विल रकम समेत भुक्तानी नगरी जबरजस्ती रुपमा बस्ने र बसाउने कार्य भैरहेको जिकिर गरेका छन् ।

घर खाली गराइदिन राष्ट्रपति कार्यालउ शितल निवास तथा पूर्व राष्ट्रपतिज्यूलाई समेत पटक पटक लिखित सूचना दिदा समेत घर कम्पाउन्ड खाली नभएकोले पुनः सूचना प्रकाशित गर्न बाध्य भएको सूचनामा उल्लेख छ ।

साथै सूचनामा अबको १५ दिनभित्र सम्पूर्ण हिसावकिताव फरफछ्र्यौट गरी घर खाली गराइदिन भनिएको छ । अन्यथा कानून बमोजिम भैजाने चेतावनी समेत दिइएको छ ।

Comments

comments