काठमाडौं । एसीसी १९ वर्ष उमेर समूह (यू–१९) एसिया कप क्रिकेटको तयारीका लागि बंगलादेशमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा जीत निकालेको छ । आइतबार भएको अन्तिम तथा तेस्रो अभ्यास खेलमा नेपालले बंगलादेशको यू–१९ क्रिकेट टोलीलाई ६ विकेटले पराजित गर्दै सान्त्वना जीत निकाल्न सफल भएको हो ।

क्रिरा शिखा प्रतिस्थान रंगशालामा बंगलादेशले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४६ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा आशिफ शेखले ९० रनको योगदान गरे । यस्तै ओपनर जितेन्द्र सिंहले ४५ रन बनाए भने कप्तान दिपेन्द्रसिंह एरी २७ रनमा अविजित रहँदा रोहित कुमार पौडेलले २५ रन जोडे ।

बंगलादेशका रोनी हुसेन, सैफ हसन, अनिक इस्लाम र शाकुवट हुसेनले समान एक÷एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो ।

बंगलादेशका लागि अमिनुल स्लामले अर्धशतकीय पारी खेलेका थिए । एसिया कपको विशेष तयारीका लागि  बंगलादेश गएको नेपाली टोली अघिल्ला दुई अभ्यासमा पराजित भएको थियो ।

Comments

comments