काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा एक निर्वाचन क्षेत्रभन्दा बढीबाट उम्मेदवारी दिन पाइँदैन ।

यसअघि केही शीर्ष नेताले दुई स्थानबाट उम्मेदवारी दिने गरेकामा यस पटक कानुनी अंकुशका कारण एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् ।

केही नेतf आफ्नो गृह जिल्ला र क्षेत्रभन्दा बाहिरबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन क्षेत्रभन्दा बाहिर गएर प्रतिस्पर्धा गर्ने उम्मेदवारले यो पटक आफैलाई मतदान गर्न नपाउने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको स्थानीय निर्वाचनमा आफ्नो मतदाता नामावली भक्तपुरमा सारेका कारण उहाँले झापामा मतदान गर्नु पाउनु हुँदैन ।

ओलीले सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सार्नुभएको छ ।  तर, प्रतिनिधिसभा सदस्यका लागि ओली झापा ५ बाट चुनावी मैदानमा हुनुहुन्छ । उहाँले यस पटक आफैले आफैलाई मत दिन पाउनुहुन्न ।

एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल रौतहटको गौर नगरपालिकामा मतदाता हुनुहुन्छ ।  तर, उहाँ पनि काठमाडौँ २ बाट उम्मेदवार हुनभएकोले उहाँले पनि आफैँलाई मत दिन पाउँनु हुँदैन ।

काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएका नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको मतदाता नामावली रुकुममा छ ।  तर, शर्मा काठमाडौँको चुनावी मैदानमा हुनुभएको कारण उहाँले पनि मतदान गर्न पाउनुहुँदैन

यस्तै काठमाडौँ २ का मतदाता रहनुभएका पूर्वसभामुख दमननाथ ढुङ्गाना यस पटक नेपाली काँग्रेसको तर्फबाट भक्तपुर २ मा चुनावी मैदानमा हुनुहुन्छ ।  ढुङ्गानाले पनि आफैलाई मत दिन पाउनु हुन्न ।

रोल्पा नगरपालिकामा मतदाता रहनुभएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि दाङबाट चुनाव लड्दै हुनुहुन्छ । महराले पनि आफैलाई मतदान गर्न पाउनुहुन्न ।  महरा दाङ २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

काठमाडौँ ६ का मतदाता रहनुभएका माओवादी केन्द्रका नेता हितमान शाक्य पनि अहिले काठमाडौँ १० को चुनावी मैदानमा हुनुहुन्छ । उहाँले पनि आफैलाई मतदान गर्न पाउँनु हुँदैन ।

एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईँ पनि यस पटक आफ्नो क्षेत्रमा उम्मेदवार हुनुहुन्न । चौलागाईँ यस पटक प्रदेशसभाको ‘ख’बाट चुनावी मैदानमा हुनुहुन्छ । उहाँ मतदाता रहेको बैत्यश्वर प्रदेशसभाको ‘क’मा पर्छ ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा छ ।  ठाकुर यस पटक महोत्तरी ३ बाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यस्तै सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता रहनुभएका राजपा नेता राजेन्द्र महतो धनुषाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । महतोले पनि आफैलाई मत दिन पाउनुहुन्न ।

एमाले सविच योगेश भट्टराई यस पटक काठमाडौँबाट ताप्लेजुङमा उम्मेदवार बन्नुभएको छ ।  काठमाडौँ ६ का मतदाता रहनुभएका भट्टराईले स्थानीय निर्वाचनमा डिल्लीबजार कन्या क्याम्पसबाट मतदान गर्नुभएको थियो ।  उहाँको नामावली काठमाडौँमै रहेकोले उहाँले पनि आफूलाई मतदान गर्न पाउनु हँुदैन ।

माओवादी केन्द्रका नेता देव गुरुङको मतदाता नामावली मनाङको नासोङ गाउँपालिकामा छ । तर प्रतिनिधिसभामा गुरुङ लमजुङबाट प्रतिस्पर्धामा गर्दै हुनुहुन्छ । गुरुङले पनि आफूले आफैलाई मत दिन पाउनुहुन्न ।

Comments

comments