कमरेड कोमल वली दिदीज्यूमा सानो निवेदन,

माइती छोडेर गएपनि विद्रोह होइन, अब घर गरेर खानोस्।

अरूले तयार गरेको रंगमञ्चमा गीत गाउँदा बज्ने गडगडाहट ताली जस्तो हुँदैन राजनीतिक मञ्च। किनकि कमल थापा र पशुपतिशमशेर जंगबहादुर राणाले चलाएको राप्रपा जस्तो होइन एमाले। एउटा प्रणालीमा चलेको पार्टीमा केपी ओली र माधव नेपालले बोकेपनि कार्यकर्ताले बढार्छन्।

‘कमल थापाले हाम्रो फोन उठाएनन्, हाम्रो मूल्य र मान्यताको हिसाब किताब गरेनन्’ भन्ने धेरै महिला नेतृहरूको गुनासो आइरहँदा समेत कोमल ओलीलाई हेलिकप्टर र जहाजमा चढाएर मञ्चको अग्रभागमा फुलमाला सहित बिराजमान गराएकै हो।

त्यतिमात्र होइन, गत स्थानीय चुनावमा कमल थापासँगै कोमल वली र रेखा थापाको फोटो राखेर पोष्टर टाँस्ने काम गरी पार्टीमा अब्बल दर्जाको बनाइदिँदा सोचाइमा अहमताले बास गर्नु स्वाभाविक नै हो।

चर्चित गायिका रंगमञ्चका लागि अब्बल नै हुन्। यसमा दुइमत छैन। तर पुल बनाउन अब्बल मानिने इन्जिनियर बिरामीका लागि अस्पतालमा कुनै मानेमा पनि अब्बल ठानिँदैन। तर यो तपार्इंको गल्ती होइन, किनकि राप्रपा र कमल थापाले नपुल्पुल्याएको भए यो सबै हुनेनै थिएन।

कोमल र रेखालाई राप्रपाले झ्यालबाट छिराएर अब्बल दर्जाको बनाउनु कमल दाइको भुल हो। ‘भिमकाय बनाए दाइले, अब झ्यालबाट होइन मुलढोका फोरेर निस्कन्छन् है भाइ हेर्दैजानु’ भनी अमेरिकाबाट प्रेम चौलागाई दाइले भनेको केही समयमा नै सत्य साबित भएको थियो।

उनले पछि भनेका थिए, कोमल एमालेमा एक महिना पनि टिक्न सक्तिनन्। आखिर अबिर माला सहित शंखघोष गर्दै एमालेमा छिरेको एक महिना पनि नपुग्दै कमल थापाले बनाएको अब्बल सुकेनाशमा पुगेर हरायो, आखिर किन ?

किनकि राजनीति भनेको ‘पोइल जान पाम’ भन्दै गीत गाउने रंगमञ्च होइन। चिन्तन, चेतना र विचारको एक मन्दिर हो र त्यो कुरा कमरेड कोमल दिदी ज्यूले अब बुझ्नु पर्यो।

राप्रपाको सामान्य कार्यकर्ता भएकाले चेलीले छोडेर गएपनि म एउटा माइती हुँ। माइतीमा रहँदा अब्बल र भिमकाय बनाएकै हो। तर पोइल गएपछि सासुले ताला चाबी दिइनन् भनी विद्रोह गर्ने होइन, निर्वाचन आयोगमा बुझाएको स्वतन्त्र उम्मेद्वाररुपी नालिस आजै फिर्ता लिएर घर गरि खानोस्। माइतीले दिन सक्ने सुझाव यतिनै हो।

–गोपी ढकाल

Comments

comments