काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले बागी उम्मेदवार गोविन्दराज जोशीविरुद्ध उजुरी दिएका छन् ।

बागी उम्मेदवार जोशीविरुद्ध रामचन्द्र पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । पौडेलले आफूविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन् ।

‘तनहुँ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन मनोनयन पत्र दताए गराएका उम्मेदवार गोविन्दराज जोशीको विरोधमा सोही निर्वाचन क्षेत्रबाबट सोही पदमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवार रामचन्द्र पौडेलले दिएको उजुरी २०७४ कात्तिक १७ का दिन ४:५० बजे यस कार्यालयमा क्रम संख्या १ मा दर्ता गरी यो भरपाई दिइएको छ’, पत्रमा भनिएको छ ।

जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएका थिए । विशेष अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी पौडेलको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन् ।

Comments

comments