एजेन्सी । सत्र वर्षमुनिको फिफा विश्वकप फुटबलको उपाधि इंग्ल्याण्डले हात पारेको छ  ।

भारतको कोलकातामा गएराति भएको फाइनलमा स्पेनलाई ५–२ ले पराजित गरी इंग्ल्याण्डले विश्वकप उपाधि हात पारेको हो । स्पेनले प्रारम्भिक दुई गोल गरी पहिलो हाफमा २–१ को अग्रता लिएको थियो ।

स्पेनका सर्जिओ गोमेजले १० र ३१ औं मिनेटमा गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा ब्रास्टरले इंग्ल्याण्डका लागि एक गोल गरे । पहिलो हाफमा २–१ ले पछि परेको इंग्ल्याण्डले दोस्रो हाफमा थप चार गोल गर्यो ।

५८ औं मिनेटमा गिब्बास ह्वाइटको गोलबाट बराबरी गरेको इंग्ल्याण्डका लागि ६९ औं मिनेटमा फोडिनले गोल गर्दै ३–२ को अग्रता दिलाए । ८४ औं मिनेटमा गुइहीले गोल गर्दै अग्रता ४–२ मा पुर्याए ।

८८ औं मिनेटमा फोडिनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्ड ५–२ ले विजयी भयो । प्रतियोगितामा सर्वाधिक ८ गोल गरेका इंग्ल्याण्डका ब्रुस्टरले गोल्डेन बुट पाए भने , इंल्याण्डकै फोडिनले म्यान अफ दि टुर्नामेन्ट अवार्ड पाए ।

ब्राजिलका गाब्रिएल ब्रजाओले भने उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोब्स प्राप्त गर्न सफल भए । सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित भएको ब्राजिलले तेस्रो स्थानमा चित्त बुझायो । ब्रजिलले तेस्रो स्थानको लागि साल्ट लेक स्टेडियममा हिजो भएको खेलमा अफ्रिकी टिम मालीलाई २—० ले पराजित गरेको थियो ।

Please follow and like us:

Comments