काठमाडौँ । मंसिरमा हुन लागेको प्रदेश-प्रतिनिधिसभा निर्वाचनमा ठुला नेताको अवस्थाबारे अहिलेबाटै जोड घटाउ हुन थालेको छ ।

विशेष गरी एमाले र माओवादीच वाम गठबन्धन बनेपछि ठुला नेताको भविष्यबारे बहस सुरु भएको छ । यसअघि एक्ला एक्लै चुनाव लडेका एमाले र माओवादी मिलेपछि कांग्रेसका ठुला नेताले आफूलाई असुरक्षित महसुस गरेका छन् ।

एमाले माओवादी मिलेपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेसको मत स्थानीय निर्वाचन कम देखिएको छ । तर उनको राष्ट्रिय व्यक्तित्वले चुनाव जित्न सक्ने बताइन्छ ।

तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीले थालेको अभियानले उनी अफ्ठेरोमा परेका छन् । कांग्रेसको संसदीय समितिले पौडेललाई टिकट दिए पनि एकातिर वाम गठबन्धन र अर्कातिर जोशीको विरोधले उनलाई चुनाव जित्न सहज हुने छैन ।

झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेसले लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मालाई भिडाउन खोजेपछि नयाँ तरंग ल्याएको छ । उता एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा चुनाव जित्ने ग्यारेन्टीका लागि देवी ज्ञवालीसहितका एमाले नेताहरुलाई फकाउन सक्रिय भएका छन् ।

निर्वाचनमा दलहरूले पाएको मतका आधारमा राजनीतिक दलका शीर्ष नेता कति सुरक्षित छन् ? त्यसबारे लेखाजोखा गरिएको यो विवरण हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौँ ।

Comments

comments