काठमाडौँ । स्वतन्त्र हुने घोषणा गरेपछि स्पेनका प्रधानमन्त्री मारियानो राखोईले केही समयदेखि तनावमा रहेको क्याटलोनियाको संसद भंग गरेका छन् ।

प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता कार्लोस पुजिमोन्ट र उनको मन्त्रिपरिषद्लाई समेत बर्खास्त गर्दै केन्द्रीय शासन सुरू गरेका छन् ।

क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि प्रधानमन्त्री राखोइले त्यहाँको संसद् र सरकार भंग गर्दै केन्द्रीय शासन सुरू गरेका हुन । प्रधानमन्त्रीले क्याटलोलियाका प्रहरी प्रमुखलाई समेत बर्खास्त गरेको समाचार छ ।

प्रधानमन्त्री राखोइले क्याटलोनियामा मध्यावधि निर्वाचन गराइ त्यहाँको अवस्था सामान्य बनाउन तत्काल केन्द्रीय शासन सुरू गरेका हुन् ।

क्याटलोनियामा डिसेम्बर २१ मा चुनाव हुने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री राखोर्इले चुनाव स्वतन्त्र र निष्पक्ष हुने जिकिर गरेका छन् ।

निर्वाचनपछि क्याटलोनियामा विधिको शासन फर्किने उनको विश्वास छ। राखोईले क्याटलोनियामा ‘कानुन, प्रजातन्त्र र स्थायित्व’ ल्याउन कडा कदम चालेको बताएका छन् ।

यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो । संसद्को गोप्य मतदानलाई स्पेन एक रहनुपर्ने पक्षधरले बहिष्कार गरेका थिए ।

१३५ सदस्यीय संसद्मा प्रस्तावको पक्षमा ७० र विपक्षमा १० मत खसेक थियो । दुई सदस्यले मतदान गरेनन् । एकताको पक्षका केही सांसदले मतदान बहिस्कार गरे ।

स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो । जसलार्इ रोक्न स्पेन सरकारले हस्तक्षेप गरेको थियो ।

Comments

comments