काठमाडौँ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा माओवादीले जालझेल गरेर देवी ज्ञवालीलाई हराइयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणुलाई जिताउन माओावादीका बुथ एजेन्टले मतपत्र नै च्याते ।

रेणु पराजित हुने अवस्थामा च्यातिएको मतपत्र सर्वोच्चसम्म पुगेर टुंगियो । भरतपुर वडा नम्बर १९ मा पुनःनिर्वाचन गरिँदा देवी ज्ञवाली रेणुसँग पराजित भए ।
तर, बुधबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा एउटा रोचक दृश्य देखियो । छेउमा उभिएर फोनमा बोल्दै गरेका देखिए एमाले अध्यक्ष केपी शर्मा ओली । अनि सँगै थिए, माओवादी अध्यक्ष प्रचण्ड र उनीसँगै कुम जोडेर उभिएका थिए देवी ज्ञवाली ।

वाम तालमेल भएको अवस्थामा ज्ञवालीले भरतपुरको तिक्तता विर्सँदै प्रचण्डलाई जिताउन आफू कटिबद्ध भएर लाग्ने बताएका थिए । बुधबार पनि देवीले एमाले अध्यक्ष ओलीलाई साक्षी राखेर प्रचण्डलाई जिताउन आफू कमाण्डर बन्न तयार रहेको उल्लेख गरे ।

दुई पार्टीका अध्यक्षको भेटसँगै देवीसँग प्रचण्डपुत्र प्रकाश दाहालले देवीसँग मुस्कुराउँदै सेल्फी लिन पनि भ्याए । रेणुलाई जिताउने क्रममा देवीविरुद्ध कुनै बेला फेसबुक स्टाटस समेत लेख्न भ्याएका प्रकाश देवीसँगै फोटो लिँदा खुसी देखिएका थिए ।

 

Comments