मेलबर्न । अष्ट्रेलियामा अहिले नागरिकताका लागि आवेदन दिनेहरुको ओइरो लागेको छ । गत अप्रिल महिनामा नगारिकता सम्बन्धि कडा विधेयकको प्रस्ताव आएपछि १ वर्ष यताकै न्यून संख्यामा पुगेको आवेदन अहिले विधेयक फेल भएपछी व्हात्तै बढेको आप्रवास सम्बन्धि विभागकी अधिकारी क्रिष्टिन डिसीले बताएकी हुन् ।

अष्ट्रेलियाका अप्रवासी मन्त्री पिटर डटनले सदनमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक फेल भएपछि संसदको विचराधीन प्रस्तावको सूचीबाट हटाइएको हो । संसदले दिएको समयभित्र मन्त्री डटनले विधेयकलाई प्रस्तुत गर्न नसकेपछि विधेयक फेल भएको हो ।

तोकिएको समयभित्र विधेयक छलफलकालागि संसदमा पेश नभएपछि उक्त प्रस्तावलाई संसदको विचारधिन प्रस्तावको सूचीबाट हटाइएको छ ।

मन्त्री डटनले प्रस्तुत गरेको विधेयकले अष्ट्रेलियाको छवि नै विगार्ने भन्दै निकै विवादित बनेको थियो । अष्ट्रेलिया अप्रवासीहरुले नै बनेको देश भएपनि अप्रवासीलाई नै अप्ठ्यारो पार्नेगरी ल्याइएको भन्दै निकै आलोचना भएको थियो ।

विधेयक सूचीबाट हटाइएपछि अष्ट्रेलियामा आफ्नो भविष्यको योजना बनाइरहेकाहरुलाई राहत भएको छ । ग्रीन पार्टीका निक म्याकिमले निर्धक्क भएर आफ्नो पढाइ र कामलाई निरन्तरता दिन अष्ट्रेलियामा रहेका अप्रवासीहरुलाई अपिल गरेका छन् ।

मन्त्री डटनले प्रस्ताव गरेको विधेयकमा नागरिकता र पीआर सम्बन्धि प्रावधानमा कडाइ गरिएको थियो । विधेयकका अनुसार अष्ट्रेलियाको नागरिकता प्राप्त गर्न अँग्रेजी भाषा परीक्षा आइएलटिएसमा हरेक व्याण्ड ६ अंक प्राप्त गर्नुपर्ने,अप्रवासी सम्बन्धि नीतिका सम्बन्धमा निर्णय गर्ने अधिकार अप्रवासी मन्त्रीमा निहित गरिने उल्लेख छ । यस्तै पीआर प्राप्त गर्न हाल कायम १ वर्षबाट बढाएर ४ वर्ष पुर्याउने लगायतका व्यवस्था सामेल थिए ।

विधेयक अघि बढ्न नसकेपछि मन्त्री डटन भने निकै आक्रोशित बनेका छन् । उनले लेबर पार्टी र त्यसको नेतृत्व गर्ने बिल सर्टनका कारण राष्ट्रिय स्वार्थको मुद्दा फेल गराइएको आरोप लगाएका छन् । विधेयक फेल भएपछि नागरिकता सम्बन्धि नयाँ प्रावधान ल्याइने मन्त्री डटनले प्रष्ट पारेका छन् ।

Comments

comments