गुल्मी । गुल्मीका एक युवाले आफ् नै गाँउमा व्यवसायिक केराखेती गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । मसिकोट नगरपालिका १ भर्माचौर निवासी चन्द्रमणी घिमिरेले व्यवसायिक केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा १० लाख आम्दानी गर्न सफल हुनुभएको हो ।

घिमिरेले रोजगारीका लागि जापानसहित देशका विभिन्न देशहरुमा ९ वर्ष बिताएर नेपाल फर्केपछि व्यवसायिक केरा खेती सुरु गर्नुभएको थियो । उहाँले ४ रोपनी जग्गामा ४० हजारको लगानीमा ८० वटा केराको बोटबाट खेती सुरु गर्नुभएको थियो ।

आधुनिक कृषि  गरेर पनि मनग्य आम्दानी गर्न सकिने भएकाले अन्य युवाहरुलाई पनि विदेश जानुभन्दा आफ्नै जन्मभूमिमा केही गरेर आत्मनिर्भर हुन आग्रह गर्नुहुन्छ । घिमिरेले मिहेनत र परिश्रम गर्न सके स्वदेशमै राम्रो कमाई गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ ।

व्यवसायबाट आफू सन्तुष्ट भएको र जापानको जति कमाई गाँउमै गरेको भन्दै आफ्नो केरा व्यवसायलाई  अझ वृद्धि गर्दै लैजाने र गाँउलाई नै केरामय बनाउने घिमिरेको सोच छ । घिमिरेले हाल स्थानीय जातका फुर्से, झोर्पे, मुहुरे र उन्नत जातका चिनी, झापाली माल्भव र मनिपुरे माल्भव गरी ६ जातका केरा लगाउनु भएको छ ।

आफूले उत्पादन गरेका केरा, खुर्सानी, मेवा र कुखुराको राम्रो व्यापार भएको र माग अनुसार बजारमा पु¥याउन नसकेको  घिमिरेको भनाई छ ।

Comments