काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टरार्इ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा गोरखाली जनताले  आफूलार्इ न्याय दिने दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा गोरखा क्षेत्र नम्बर २ मा आफ्ना प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठसँग चर्काचर्की परेको भोलिपल्ट सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै बाबुरामले यसो भनेका हुन् ।

‘न्याय नपाए गोरखा जानू’ भन्ने पुरानो उक्तिलार्इ सम्झिँदै बाबुरामले यस पटक पनि सत्य र न्यायको पक्षमा गोरखाली जनता उभिने जिकिर उनले गरेका हुन् । ‘यस पटकको आम निर्वाचनमा पनि सत्य र न्यायको पक्षमा गोरखाली जनताले फ़ैसला गर्नेछन् भन्ने मलाई पूर्ण विश्वास छ’, उनले भनेका छन् ।

बाबुरामले हजार तर्कभन्दा एउटै तथ्य बलवान हुने जिकिर गर्दै गोरखाको विकासका लागि आफूले विगतमा धेरै योगदान दिएको पनि उल्लेख गरेका छन् । ‘भनिन्छ ‘हजार तर्क भन्दा एउटै तथ्य बलवान् हुन्छ’, विगतमा दुर्इ पटक अत्यधिक मतले विजयी बनाएर गोरखाली जनताले संविधानसभामा पठाउनुभयो’, उनले भनेका छन्, ‘छोटो अवधि अर्थमन्त्री तथा प्रधानमन्त्री बन्ने अवसर दिएपछि मैले संविधान निर्माणमा र गोरखाको विकास र समृद्धिमा के कस्तो योगदान गर्न सकेँ गोरखाली जनताले नै मूल्याङ्कन गर्ने कुरा हो ।’

नेता बाबुरामले आफूले छोटो अवधिमा गोरखाका लागि दिएको योगदानलार्इ नबिर्सन पनि अपिल गरेका छन् । ‘मेरो अहिले यत्ति मात्र अनुरोध छ, ‘छोटो अवधिमा गोरखामा विकासका पूर्वाधारको जुन बीऊ राखिएको छ’, उनले भनेका छन्, ‘त्यसलाई राम्ररी रोपेर र गोडमेल गरेर हुर्काउने अर्को एउटा अवसर दिनुहोस्’, आगे गोरखाली जनताको जो मर्जी ।’

Comments

comments