काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने ठूला राजनीतिक दल उनको पछिल्लो अभिव्यक्तिलाई लिएर केही बोलेका छैनन् । यद्यपि, ठूला दलका दोस्रो तहका नेताचाहिँ संविधान कार्यान्वयन तीव्र गतिमा बढिरहँदा शाहका अभिव्यक्तिको खासै अर्थ नभएको दाबी गर्छन् ।

पूर्वराजा शाहले भाइटीकाको अवसर पारेर अब टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै आफू जिम्मेवारी र नेतृत्व लिन तयार भएको बताएका थिए ।उनले भनेका थिए, ‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वाभाविकै छ तर अब समय आएजस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु । तर, सबै जनताको इच्छा हुनुपर्छ ।’

बिनाविभागीय मन्त्री एवं माओवादी नेता टेकबहादुर बस्नेत पूर्वराजाले मौकाको फाइदा लिन खोजे पनि त्यो असम्भव रहेको बताउँछन् ।

उता एमाले उपाध्यक्ष भीमबहादुर रावलले पूर्वराजा शाहलाई चुनावमा प्रतिस्पर्धा गरेर नेतृत्वमा पुग्न सकिने ठाउँ भएको सुझाव दिनुभयो ।

यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे पूर्वराजाको अभिव्यक्तिलाई ठूला दलका कारण उत्पन्न राजनीतिक वितृष्णाको प्रतिफलका रूपमा आफूले हेरिएको बताउनुभयो।

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने जनताको आदेशबाटै निकालिएको राजलाई जनताको आदेशबाट पुनःस्थापित हुने कुरामा सत्यता नरहेको बतानुभयो । ।

एमाले नेता रवीन्द्र अधिकारी शाहको अभिव्यक्तिले कुनै अर्थ नराख्ने बताउँनुहुन्छ । ‘दलहरूले जनादेशअनुसार राज्य सञ्चालन गर्न नसकेको विकल्प राजा हुनै नसक्ने उहाँको तर्क छ ।

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कुनै पनि नागरिकलाई आमजनताले सहयोग गरेमा नेतृत्व लिन्छु भन्नु स्वाभाविक कुरा भएको बताउँनुहुन्छ । ‘तर, पूर्वराजामा त्यो सम्भावना नरहेको उहाँको दाबी छ ।

Please follow and like us:

Comments