विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस मधेसी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उहाँले लोकतान्त्रिक फोरम र कांग्रेसबिचको एकीकरणपछि सातवटै प्रदेशमा कांग्रेस लहर उत्पन्न भएको र पार्टी एकीकरणका क्रममा कांग्रेससँग आफूलाई उपसभापति पद दिने समझदारी भएको जिकिर गर्दै उहाँले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएको बताउनुभयो ।

उहाँले मधेसको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न संसद अवरुद्धसमेत गरिएको स्मरण गर्दै आफू सदैव मधेसको समस्या समाधान गर्न क्रियाशील रहेको बताउनुभयो । रासस

Comments