-दीपेन्द्र दोङ तामाङ

माथि माथि सैलुगेँमा चौरी डुलाउनेलाई,सुनकै भाउछ सुन्तला भारीको,खुट्टा तान्दै गर जस्ता सदाबहार कालजयी गीतका गायिका हुन् कुन्ती मोक्तान् । सायद बिरलै होलान् उनको गीतमा जीउ नहल्लाउने । उनको गीतमा नाच्दै बाल्यकाल बिताएका स्वर्णिम सम्झनाहरु धेरैसँग होलान् । किनकि आज पनि हरेक स्कुलको कार्यक्रमहरुमा कुन्तीकै गीत घन्केको हुन्छ ।

वास्तवमा कुन्ती मोक्तानको नामै पर्याप्त छ उनलाई चिन्न । लोक र शास्त्रीय संगीतको फ्यूजनका सयौं लोकप्रिय गीतका गायिका कुन्ती मोक्तान नेपाली सांगीतिक क्षेत्रकी सर्वप्रिय गायिका हुन् । त्यसैले त के केटाकेटी,के युवायुवती अनि के वृद्धवृद्धा सबै उनका गीत र स्वरका खाँटी प्रशंसक बनेका छन् ।

बुबा प्रेमकुमार सुन्दास र आमा बिष्णुमाया सुन्दासको तीन सन्तान मध्यकी उनी जेठी छोरी हुन् । उनको जन्म विक्रम सम्वत २०१९ असार २९ गते दार्जिलिङ्गको मार्गेस्टुपमा भएको हो । प्राकृतिक रुपमा जति रमणीय ठाउँमा उनको जन्म भएको थियो,त्यत्ति नै रमाईलोछ उनको बाल्यकाल पनि ।

उनको जमानामा दार्जिलिङ्ग संगीतको खानी नै थियो । त्यहाँ कुनै घर हुदैनथे जुन घरमा वाद्यवादनको साधन नहोस् । किनभने सबै घरका परिवारको कुनै न कुनै सदस्य संगीतप्रेमी हुन्थे । गाउँघरको त्यही माहोलले कुन्तिलाई पनि सानै उमेरदेखि संगीतप्रति झुकाव बढायो । त्यसो त कुन्तीका आमा बुबालाई पनि संगीत खूबै मन पथ्र्यो । तर घरकी जेठी छोरी भएकीले राम्रो शिक्षा दिएर र घरायसी काममा पोख्त बनाएर बेलैमा बिबाह गरेर पठाउन पाए हुन्थ्यो भन्ने धारणा उनका अभिभावकमा थियो । त्यसमाथि एकदिन कुन्तीले कार्यक्रममा गीत गाईरहदा दर्शक दीर्घाबाट केहि नराम्रो कमेन्ट सुनेपश्चात त उनको बुबालाई छोरी संगीतक्षेत्रमा लागेको पटक्कै मन परेन ।

तर छोरीको इच्छा र प्रतिभाका सामू आमावुवाको के नै लाग्थ्यो र ? हरेक आमावुवाको एउटै सपना छोरीको प्रगति र उन्नति हो । त्यसैले प्रत्यक्ष सपोर्ट नगरे पनि कुन्तीका आमावुवाले उनको इच्छा र पाइलामा तगारो लगाइदिने काम भने कहिल्यै भएन । त्यसैले कुन्तीको संगीत यात्रा क्रमशः अघि बढिरह्यो आफ्नै गतिमा ।

कुन्तीको गायन प्रतिभा कतिसम्म अब्बल थियो भने कक्षा ८ मा अध्ययन गरिरहेकै समयमा उनले अल ईन्डीया रेडियोमा भ्वाईस टेस्ट पास गरिन् । त्यतिखेर उनी १४ वर्षकी मात्र थिइन् । स्वरपरीक्षा पास भएपछि उनले त्यसै वर्ष पहिलो पटक कोरी बाटी.. बोलको गीत रेकर्ड गर्ने अवसर पाईन् ।

०००००

किशोर वयमा पाएको स्टारडम र नेपाल यात्रा

चौध वर्षको किशोर वयदेखि गाउन थालेकी कुन्तीले त्यसपछि भने कहिल्यै पछाडि फर्केर हेर्न परेन । संगीतप्रतिको झुकाव,ज्ञान,आत्मविश्वास र स्वरको माधुर्यको कारण किशोर अवस्थामै उनी दार्जिलिङ शहरकै चल्तीकी गायिका बन्न सफल भइन् ।

सानैदेखि गीत गाउदै जाने क्रममा स्कूलको शिक्षासँगै कुन्तीले शास्त्रीय संगीतको शिक्षा पनि लिन थालिन् । उनी गुरु जे.सि.राईको सांगीतिक छात्रा बनेर उनैबाट शास्त्रीय संगीतका ज्ञानहरु हासिल गर्दै गइन् । एकातिर औपचारिक सांगीतिक प्रशिक्षण अर्कोतिर संगीतप्रतिको झुकाव र माधुरीपूर्ण जन्मजात स्वर । त्यसैले ८ बर्षको कलिलो उमेरदेखि गीत गाउँन थालेकी उनी टीनएजमा नै दार्जलिङ्गको चल्तीकी गायिका बनिसकेकी थिईन् । तर भनिन्छ नि मानिसको जातै असन्तोषी भनेर । त्यस्तै भयो कुन्तीलाई पनि । दार्जिलिङ्गमा मात्र नभएर नेपालभरि नै आफ्नो सुमधुर आवाजको जादु छर्ने रहर भयो उनमा । त्यतिबेला काठ्माण्डौलाई बोलीचालीमा नेपाल भनिन्थ्यो । त्यहि नेपाल आउने अनि गीत गाउने उत्कट रहर उनको मनमा पनि थियो । श्रीमान् शिलाबहादुर मोक्तानको सहयोग र साथले कुन्तीको त्यो रहर पनि अन्ततः पुरा भयो । अर्थात थप सांगीतिक उचाइ खोज्न उनी श्रीमान शिलाबहादुर मोक्तानका साथ काठमाण्डौ अर्थात् उनकै भाषामा भन्दा नेपाल आईन् ।

मोक्तान दम्पत्ति काठमाडौं आएको वर्ष सन् १९८० थियो । काठमाण्डौ आएपछि शिलाबहादुरकै संगीतमा कुन्तीले पहिलो गीत रेकर्ड गराइन् । कहिले काही मलाई पनि हेरिदेउन फर्किएर.. बोलको त्यही गीत कुन्ती मोक्तानको सांगीतिक करियरमा टर्निङ्ग पोइन्ट बन्यो ।

यो गीतले नेपाली सांगीतिक क्षेत्रमा कुन्ती मोक्तानको आफ्नै स्थान सुरक्षित बनाइदियो । गीतको लोकप्रियताले कति पनि मात्तिएनन् उनीहरु । अझ थप उत्साहित बन्दै सांगीतिक कर्ममा लागिरहे । र,त्यसपछिका दिनहरुमा उनले क्रमश खुट्टा तान्दै गर,माथि माथि सैलुगँेमा,चोली राम्रो पाल्पाली ढाकाको,सुनकै भाउ छ सुन्तला भारीको,पोखरा जाँदा लाएको माया लगायतका एकपछि अर्को लगातर हिट गीतहरु दिइरहिन् । कुनै समय यस्तो पनि आयो नेपाली संगीत क्षेत्रमा पूरै कुन्ती मोक्तान र शिलाबहादुरको वर्चश्व रह्यो ।

लोक र शास्त्रीय फ्युजन गरिएका उनका गीतहरुमा छुटै मज्जा हुन्थ्यो । गहन शब्द,सरल संगीत अनि माझिएको स्वर । कुन्ती मोक्तानका गीतहरुको विशेषता भनेकै बच्चादेखि बृद्दवृद्धा सबैकालागि उनका गीत प्रिय थिए र अझै छन् । कोर्रा मायाप्रीतिका गीत भन्दा युगीन र समाजशास्त्रीय चेतना बोकेका उनका गीतहरु नेपाली संगीत क्षेत्रका वास्तविक दस्तावेज हुन् ।

चार दशक लामो सांगीतिक करियरमा कुन्ती मोक्तानको खातामा अहिले लगभग ६ सय गीत छन् । निरन्तर रुपमा एल्बम निकाल्ने क्रममा उनको एल्वमको संख्या नै एक दर्जन पुगिसके । सांगीतिक कार्यक्रमका शिलशिलामा नेपालका प्रायः सबै जिल्ला घुमिसकेकी उनले हङकङ लगायत विदेशका थुप्रै स्थानमा स्टेज जमाइसकेकी छिन् ।

००००

सफलताको श्रेया शिलाबहादुर

एउटा प्रचलित भनाइ छ कि हरेक सफल पुरुषको पछाडि महिलाको हात रहन्छ । कुन्तीको सवालमा भने यो ठीक विपरित छ । किनभने उनको सफलताको समान हिस्सेदार हुन् श्रीमान् शिलाबहादुर मोक्तान,जो आफैंमा नेपाली सांगीतिक क्षेत्रका सिग्नेचर संगीतकार हुन् ।

सांगीतिक क्षेत्रमा लागेर कुन्ती मोक्तानले काम,दाम,नाम त पाइन् नै सबैभन्दा गहन कुरा उनले असल जीवन साथी पाईन् । किनभने संगीतकै माध्यमबाट शिलाबहादुरसँग कुन्तीको भेट भएको थियो । उनीहरु दुवैजना गुरु जेसी राईका शिष्य थिए । त्यसैले शास्त्रीय संगीत सिक्ने क्रममा उनीहरुको भेट त्यही भएको थियो ।

यसरी संगीत सिक्दाका असल साथी कालान्तरमा उनीहरु प्रेमीप्रेमिकामा रुपान्तरण भए । त्यसलाई मूर्तत दिन सन् १९८३ मा उनीहरु बिबाह बन्धनमा बाँधिए । विवाह अघि शिलाबहादुरकै संगीतमा कहिले काहि मलाई पनि हेरिदेउन फर्किएर बोलको गीत गाएर छुट्टै नाम र पहिचान कमाइसकेकी कुन्तीको सांगीतिक यात्राले संगीत सर्जक जीवनसाथी पाएपछि झनै सहज र सुगम बन्यो । तर यात्रा न हो उकाली ओराली आउछ जान्छ ।

तर जति नै दुख र अभाव होस्,मन खुशी छ भने त्यसले कुनै प्रभाव पार्न सक्दैन । यस्तै थिए कुन्ती र शिलाका ती दिनहरु ।

आफू आज यो स्थानमा आईपुग्नुमा श्रीमान शिलाको नै ठूलो हात रहेको खुलेर बताउछिन्, कुन्ती । आफनो गीतको पहिलो श्रोता तथा दर्शक नै श्रीमान रहेको बताउछिन् उनी । त्यति मात्र होइन पर्फेक्ट श्रीमान्को रुपमा रहेका शिलाबहादुर पर्फेक्ट बुबा समेत रहेको उनी बताउछिन् ।

कुन्ती र शिलाले लगानगाँठो कसेको ३४ वसन्त पूरा भैसकेको छ । यी जोडीका २ सन्तान् छन्, शितल र सुवानी मोक्तान । दुबै छोरीहरुले आमा बुबाको बाटोलाई नै पछ्याउदै सानै उमेरमा सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाइसकेका छन् । यस अर्थमा काठमाडौंको गौरीघाट,कुमारीगालस्थित मोक्तान परिवार पूर्ण रुपले संगीतमय छ । ०००००

जिम्मेवार पत्नी र आमा

गायिका कुन्ती मोक्तान लोकप्रिय गायिका त हुन् नै । यसका साथै उनी एक जिम्मेवार जीवनसंगीनी र मायालु आमा पनि हुन् । रसिलो स्वभावकी कुन्ती समकालीनबीच मिलनसार र प्रतिभावान व्यक्तित्वका रुपमा परिचित छिन् । त्यति मात्र होइन धेरै नवप्रतिभाकालागि उनी आदर्शका पात्रा हुन् ।

बाबु आमा नै नेपाली संगीत क्षेत्रका हस्ती । त्यसमाथि घरको वातावरण नै संगीतमय । त्यसको प्रभाव सन्तानमा पर्नु अस्वभाविक होइन ।

मोक्तान दम्पत्तिका दुई छोरी जेठी शितल मोक्तान र कान्छी सुवानी मोक्तान पनि यसबाट अलग रहनसकेनन् । सानैदेखि भ्वायलिनवादनमा पोख्त यी दिदी बहिनीले किशोर अवस्थामै आमा बाबुको बिडों थामिन् । अर्थात शितल र सुवानीको स्वर सजिएको एल्वम पहिलो माया श्रोता दर्शक माझ प्रकाशित भयो । पहिलो एल्वमबाटै शितल सुवानीले श्रोता दर्शकको अपार माया पाइन् । नपाऊन् पनि किन ? सांगीतिक गर्भबाट जन्मेकी उनीहरुको लालनपोषणमा समेत संगीत मिसिएको थियो । त्यसमाथि सानैदेखिको सांगीतिक प्रशिक्षण । घरको वातावरणले नै संगीत क्षेत्रमा लाग्न अभिप्रेरित गरेको जेठी छोरी शितल मोक्तान बताउछिन् ।

एक्सट्रा रिदम

चार दशक लामो सांगीतिक यात्रामा गायिका कुन्ती मोक्तानले धेरै गीतकारका शब्दमा आफ्नो स्वर भरिन् । तीमध्ये केहीलाई छोडेर सबैलाई जीवन्त बनाइन् । ती गीतहरु नेपाली सांगीतिक भण्डारमा सदावहार गीत बनेर रहेका छन् र रहिरहनेछन् । शायद त्यसैले होला कुन्ती मोक्तानको स्वरमा आफ्नो शब्द स्वरवद्द गराउन नयाँदेखि पुराना सबै गीतकारहरु लालयित थिए र छन् पनि । लामो समयदेखि कुन्ती मोक्तनसँग सांगीतिक सहकार्य गर्दै आएका गीतकार दिनेश अधिकारी कुन्तीको गायकीपनमा छुटै रिदम र मीठासको अनुभव हुने सुनाउँछन् ।
मोक्तान दम्पत्ति काठमाडौं आएदेखिका शुभचिन्तक भनौं या सहयोगी साथीमा पर्छिन् गीतकार तथा साहित्यकार उषा शेरचन । यति लामो संगत भए पनि मोक्तान दम्पत्तिको व्यवहारमा कहिल्यै परिवर्तन नआएको शेरचनको अनुभव छ । सधैं उत्तिकै आत्मीय,उत्तिकै सरल अनि उस्तै मिहिनेत । शिला र कुन्तीबाट मात्र होइन दुई छोरीको प्रतिभा र संस्कारबाट निकै प्रभावित छिन् गीतकार शेरचन ।

नि : सन्देह गायिका कुन्ती मोक्तान नेपाली सांगीतिक क्षेत्रकी स्वरकी रानी हुन् । त्यसैले त श्रोता र दर्शकको मनमा झण्डै चार दशकदेखि निरन्तर उनकै राज चल्दै आएको छ ।

०००००

Comments

comments