रौतहट । जिल्लाको मौलापुर नगरपालिकामा एक चोरसमुहले गएराति सुरुङ खनेर लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको छ ।

सोमबार मध्यरातमा चोरले सुरुङ खनेर मौलापुर नपा-१ मर्यादपुर टोलस्थित छुट्टाछुट्टै घरबाट नगद, गरगहना तथा अन्य सामान गरी छ लाख बराबरको सामान चोरी गरी लगेको पीडितले बताएका छन् ।

मौलापुर नगरपालिका–१ का वडाध्यक्ष रामप्रवेश यादवका अनुसार सोमबार राति १२ र १ बजेको बीचमा घरधनी सुतिरहेको अवस्थामा चोरले हृदयबैठा धोबी, महेन्द्र साह कानु, रामाज्ञा यादव, भजुराम महतो, राधेश्याम पटवा, सुरुज तिवारीको घरमा सुुरुङ खनेर रु छ लाख बराबरको धनमाल लुटी लगेका हुन् ।

चोरले धोबीको घरबाट नगद दुई लाख, चाँदीको हँसुली एक थान, चाँदीको गोँडाइ दुई थान, कानुको घरबाट नगद  ४० हजार, यादवको घरबाट नगद ५० हजार लुटी लगेको वडाध्यक्ष यादवले बताउनुभयो ।

त्यसैगरी, महतोको घरबाट नगद रु एकलाख ५० हजार, पटवाको घरबाट रु ६० हजार र तिवारीको घरबाट नगद रु एक लाख र एकथान लाभा कम्पनीको साधारण मोबाइल सिमसहित चोरेको वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।

पीडित भजुरामले छोरीको विवाहपछि गौँना बिदागिरी (विदाई गर्न) का लागि रकम जोडजाम गरेका थिए  । राधेश्यामले आगामी पूर्णिमामा मर्यादपुरमा लाग्ने मेलामा व्यापार गर्नका लागि सोमबार मात्रै बैंकबाट झिकेर ल्याएको पीडितले बताएका छन् ।

त्यसैगरी, राजधानीमा  ठेक्कामा काम गरिरहेका सुरुज तिवारीको छोरा हरिराम तिवारीले जग्गा खरिद गर्न दुई दिनअघि मात्र पैसा लिएर घर आएका थिए । बाहिरबाट पैसा आएको घर मात्रै छानीछानी चोरी भएकाले चोर समूह नजिकैको हुनसक्ने पीडितले अनुमान गरेका छन् ।

इलाका प्रहरी कार्यालय, विजयपुरका प्रमुख धर्म मुडभरीले दीपावली र छठपर्वको मुखमा यसरी चोरी हुनु दुःखद् भएको बताउँदै घटनाबारे छानबिन भइरहेको जानकारी दिनुभयो ।

मर्यादपुरबाट मात्र दुई किलोमिटर दक्षिण मौलापुरमा प्रहरी चौकी र दुई किलोमिटर उत्तर सन्तपुर दोस्तीयामा इलाका प्रहरी कार्यालय रहेपनि नियमित गस्तीको अभावका कारण पर्वको मुखमा चोरीको घटनामा वृद्धि भएको स्थानीयले गुनासो गरेका छन् ।

Comments

comments