काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सार्न लागेको सूचना पाएपछि माओवादी केन्द्रले सरकारबाट नबाहिरिने निर्णय लिएको छ ।

गृहमन्त्री जनार्दन शर्माले मंगलबार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर सरकारले निर्वाचन सार्न लागेको सूचना पाएपछि आफूहरु सरकारबाट नबाहिरिने निर्णयमा पुगेको जानकारी दिनुभयो ।

‘चुनाव सार्नेबारेमा निर्वाचन आयोगले तयार गरेको ‘ड्राफ्ट’ नै हामीकहाँ आइपुग्यो’, शर्माले भन्नुभयो, ‘चुनाव सार्ने हो भने हामी सरकारबाट बाहिरिन्नौँ, नैतिकताका आधारमा हामी सरकारमै बस्छौँ ।’

गृहमन्त्री शर्माले सरकार छाड्ने माओवादीको निर्णयबारे गहृमन्त्रालयमा पत्रकार सम्मेलन गर्नुभएको थियो । तर, मन्त्रालयमा पत्रकारलाई कुराएर बाहिर निस्कनु भएका शर्मा माओवादी हेडक्वार्टरको सरकार नछाड्ने निर्णय लिएर पुनः आउनुभएको थियो ।

‘चुनाव सार्ने सूचना थाहा पाएपछि पार्टीले सरकारबाट नबाहिरिने निर्णय गरेको छ’, शर्माले भनुभयो, ‘चुनाव सार्ने सूचनाले हामी अचम्मित भएका छौँ । यो षड्यन्तत्रलाई सफल हुन नदिन हामी सरकारमै रहन्छौँ ।’

Comments

comments