काठमाडौं । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल पहिलोपटक सदस्य बनेको छ । अमेरिकाको न्युयोर्कमा सोमबार साँझ सम्पन्न निर्वाचनबाट नेपाल सदस्य पदमा विजयी भएको राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

नेपाल सन् २०१८ देखि २०२० सम्म तीन वर्षका लागि मानवअधिकार परिषद्मा सदस्य बनेको हो । सन् २००६ मा मानवअधिकार परिषद् बनेयता पहिलोपटक नेपाल राष्ट्रसंघ मानवअधिकार परिषद् सदस्य बनेको हो ।

यद्यपि, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयोग रहँदा सन् १९९३ र २००३ मा गरी दुईपटक नेपाल आयोग सदस्यमा निर्वाचित भएको थियो ।एसिया प्यासिफिक ग्रुपबाट नेपालसँगै कतार, पाकिस्तान र अफगानिस्तान परिषद् सदस्यमा विजयी भएका छन् । निर्वाचनमा मलेसिया पराजित भएको छ । परराष्ट्रसचिव शंकरदास बैरागीले नेपालले मानवअधिकार परिषद् सदस्यमा जित्नु गौरवको विषय भएको बताए ।

‘एसिया प्यासिफिक ग्रुपमा सबैभन्दा बढी मत पाएर मानवअधिकार परिषद् सदस्यमा हामी विजयी भएका छौं । यो हाम्रो बहुपक्षीय कूटनीतिमा महत्वपूर्ण उपलब्धि हो । आगामी दिनमा मानवअधिकारका क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा अझ बढी काम गर्न मौका प्रदान गर्नेछ’ सचिव बैरागीले भने ।

उनले नेपालले मानवअधिकार प्रवद्र्धनका क्षेत्रमा अन्तर्राष्ट्रिय र घरेलु तहमा गरेका काम, प्रयास र प्रतिबद्धताको परिणामस्वरूप मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित भएको प्रतिक्रिया दिए । उनले अब नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न प्रयास गर्ने बताए ।

Comments

comments