काठमाडौं । व्यवस्थापिका संसदको कार्यकाल आज समाप्त हुने भएपछि रात्रिभोजसहित सांसदको बिदाइ गरिदै छ । आज राति सांसदहरुको  फोटो सेसनपछि रात्रिभोज गरिने र सांसदहरुको बिदाई गरिने संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार सांसदको बिदाइ गर्नुअघि प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बिहान बसेको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्न शनिबार बैठक बस्ने तर कुनै पनि कार्यसूची नराख्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोज गर्ने सहमति भएको थियो ।

आज बिदाई भएका सांसद र पहिलो संविधानसभाका सबै सदस्यलाई ‘संविधानसभा सदस्य’को भन्ने नामसहितको विशिष्ट लोगो पाउन दिइने संसद् सचिवालयले जनाएको छ । संविधानसभा एक पटक मात्र गठन हुने र संविधान जारी गर्न सफल भएकाले सांसदहरुलाई संसद् सचिवालयले विशिष्ट लोगो प्रदान गर्न लागेको सचिवालयका प्रवक्ता भरत गौतमले बताउनुभयो ।

विगतमा जस्तै सांसदले कार्यकाल सकिएपछि पनि बाटोखर्चबापत एक महिनाको तलब पाउने भएका छन् । संविधानको व्यवस्थाअनुसार माघ ७ सम्म संसद्को कार्यकाल रहे पनि त्यसअघि नै प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले संसद्को कार्यकाल समाप्त भएको हो ।

Comments