काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले एमाले–माओवादी गठबन्धनबाट बाहिरिने तयारी गरेको छ ।

नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको शुक्रबार राजधानीमा जारी विस्तारित वैठकमा नेता भट्टराईले वाम गठबन्धनप्रति तीब्र असन्तुष्टि जनाउँदै एक्लै चुनाव लड्ने बताउनुभएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे निर्णय गर्न बसेको बैठकमा नेता भट्टराईले वाम गठबन्धनका दुई ठुला दल नेकपा एमाले र माओवादी केन्द्रले आफूहरुलाई हेप्ने काम गरेको गुनासो गर्नुभएको थियो ।

‘आफूहरुको स्पिरिट अनुसार वाम गठबन्धन चल्न नसकेको कुरा बाबुरामले बैठकमा राख्नुभयो’, नयाँशक्ति पार्टी नेपालका प्रवक्ता केशव दाहालले जनता समाचारसँग भन्नुभयो, ‘आशावादी हुने केही ठाउँ भएपनि हामीले देव्रे आँखा चुनाव चिन्ह लिएर एक्लै लड्ने तयारी थालेका छौँ ।’

नयाँशक्तिले विशेष गरेर नेता भट्टराईलाई गोरखाबाट चुनाव लड्न नेकपा माओवादी केन्द्रले रोक्ने प्रयास गरेको भन्दै गठबन्धनमा बस्नेबारे गम्भीर समीक्षापछि निर्णय लिने भएको छ ।

‘देब्रे आँखा लिएर लड्ने तयारी थालेका छौँ । आजै बेलुकासम्म जिल्लाबाट उम्मेदवारी सिफारिस भएर आएको सूची टुंग्याउँछौ’, दाहालले भन्नुभयो, ‘पहिलो चरणका सिफारिसको आजै बेलुकासम्म टुंगो गरेर अघि बढ्छौँ ।’

प्रवक्ता दाहालले गठबन्धनसँगको सहकार्यको ढोका आफूहरुको तर्फबाट बन्द नगरिएको बताउँदै माओवादीको दम्भले गठबन्धन टुट्ने अवस्था आएको आरोप लगाउनुभयो ।

‘हाम्रो तर्फबाट गठबन्धनसँगको सहकार्यको ढोका बन्द भएको छैन । तर गठबन्धनबाट आशा गरे जस्तो काम भएन’, दाहालले थप्नुभयो, ‘अहिले गोरखामै हलो अड्काउने काम भएको छ । बाबुरामले गोरखाबाटै चुनाव लड्न खोज्नु उहाँको अधिकार पनि हो, तर, उहाँलाई रोक्ने खेल हुँदैछ ।’

दाहालले एमालेले भन्दा माओवादी केन्द्रले गोरखासहित अन्य जिल्लामा पनि नयाँशक्तिलाई रोक्न इगो नै लिँदा गठबन्धन छाड्नुपर्ने अवस्था आएको बताउनुभयो ।

Comments

comments