काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

विश्व सम्मेलन सुरु हुनुभन्दा तीन दिनअघि गुरुङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

वर्तमान अध्यक्ष शेष घले पत्नी गुरुङले एनआरएनएलाई विश्वकै सफल संस्थाकोरुपमा स्थापित गर्न उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

केही एनआरएनले भने आगामी कार्यकालको लागि महासचिब पदमा कुरा नमिलेपछि गुरुङको उम्मेदवारी आएको विश्लेषण गरेका छन् । अहिलेका अध्यक्ष घलेको कार्यशैलीप्रति कडा प्रतिवाद गरिरहेका वर्तमान महासचिब बद्री केसीलाई घले समुहले स्वीकार नगर्ने र भट्ट समुहलाई समर्थन गरिरहेका पूर्वअध्यक्षहरु डा उपेन्द्र महतो र जीबा लामिछानेले घले समुहले अगाडि सारेका महासचिब पदका प्रत्यासी त्रिलोक गुरुङलाई स्वीकार नगर्ने अबस्था आएपछि अध्यक्ष पदमा गुरुङको उम्मेदवारी आएको बताइएको छ ।

‘अहिले भबन भट्ट वा यसपछि कुमार पन्तलाई अध्यक्ष बनाउने बिषयमा कसैको पनि असहमति होइन, त्यसपछिको अध्यक्ष त्रिलोक गुरुङ वा बद्री केसी कसलाई बनाउने भन्ने द्धन्द्धले जमुनाजीको उम्मेदवारी आएको हो,’ एक एनआरएन नेताले भने ।

उनका अनुसार त्रिलोक गुरुङलाई घले समुह जसरी पनि यसपछिको तेस्रो अध्यक्ष बनाउन चाहन्छ । तर, पूर्वअध्यक्षहरु डा महतो र लामिछाने केसीलाई अध्यक्ष बनाउन चाहन्छ । यी दुई समुहको द्धन्द्धको परिणाम स्वरुप अध्यक्ष पदमा जुमना गुरुङको उम्मेदवारी आएको चर्चा एनआरएनबीच चलेको छ ।

अध्यक्ष पदमा गुरुङले पनि उम्मेदवारी घोषणा गरेपछि दुई प्यानलबीच चुनाबी प्रतिस्पर्धा हुने बताइएको छ । भट्टको प्यानलबाट उपाध्यक्षमा कुमार पन्त र महिला उपाध्यक्षमा सपिला राजभण्डारी तय भएको छ । गुरुङ समुहबाट उपाध्यक्ष पदमा सोनाम लामा र खगेन्द्र सिजी परेका छन् । भट्ट समुहले पनि सोनाम लामालाई आफ्नो उपाध्यक्ष बनाएकोमा जमुना घलेको उम्मेदवारी घोषणापछि के हुने भन्ने अझै तय भएको छैन । गुरुङ समुहले महिला उपाध्यक्ष पदमा रन्जु वाग्लेलाई अगाडि सारेको छ ।

यस्तै महासचिब पदमा भट्ट समुहबाट बद्री केसी र गुरुङ समुहबाट त्रिलोक गुरुङ उम्मेदवार बनेका छन् ।

गुरुङ समुहलाई संघका बर्तमान संरक्षक इन्द्रा बन र पूर्वअध्यक्ष देबमान हिराचनले समर्थन गरेका छन् ।

Comments

comments