काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरुले विवादित अनुहारलाई उम्मेदवारमा सिफारिस गर्न थालेका छन् । दलहरुको सिफारिस सूचीमा गुन्डा नाइकेदेखि भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतबाट ठहर तथा मुद्दा विचाराधीन भएका व्यक्तिसम्म परेका छन्  ।

प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन नजिकिदैं गर्दा राजनीतिक दल कांग्रेस र एमालेले विवादित पृष्ठभूमिका अनुहार सिफारिस गरेका छन् । आफूलाई लोकतन्त्र, कानूनी राज्य र जनताको सावैभौमिकताको हिमायती ठान्ने नेपाली कांग्रेसले गुन्डा नाइके भनी कहलिएका मिनकृष्ण महर्जन, खुमबहादुर खड्का, गोबिन्दराज जोशी लगायतलाई सिफारिसमा गरेको छ । भने अर्का विवादित व्यक्ति रोज राणा अर्थात् सरोज थापा पनि सूचीमा अटाएका छन् ।

मिनकृष्ण महर्जनलाई ललितपुर र राणालाई प्युठानबाट प्रदेशसभाको उम्मेदवारका लागि जिल्ला कमिटीले सिफारिस गरेको हो । यस्तै राजनीतिक दल सम्बन्धी ऐन र संविधानले समेत उम्मेदवारका लागि अयोग्य ठहर गरेका खुमबहादुर खड्कासमेत सिफारिसमा पर्न सफल भएका छन् ।

नेपाली कांग्रेस दाङले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ बाट  सिफारिस गरेको छ । तनहुँबाट गोविन्दराज जोशी पनि सिफारिसमा परेका छन् । उनी तनहुँ–१ का लागि सिफारिसमा परेका हुन् । जोशीको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा फैसलाको पालो पर्खेर बसेको छ ।

यता एमालेले पनि गुन्डा नाइके दीपक मनाङ्गेलाई मनाङबाट प्रदेशसभा उम्मेदवारको लागि सिफारिस गरेको छ । एमालेले आफ्नो चुनावी मापदण्डमा सार्वजनिक आचरण राम्रो भएको र संविधान र कानुन अनुसार उम्मेदवार हुन योग्य व्यक्ति सिफारिस गर्नुपर्ने भनेपनि मनाङेलाई जिल्ला कमिटी मनाङले सिफारिस गरेको हो ।

एमालेबाट सिफारिस भएका दीपक मनाङेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा छ । उनको मुद्दा किनारा लागेको छैन । कांग्रेसका मिनकृष्ण महर्जनको  अपहरण र फिरौती सम्बन्धी मुद्दा जिल्ला अदालत ललितपुरमा कायम छ ।

मनाङेपछि उम्मेदवार हुने दौडमा काभ्रेका गुन्डा नाइके गणेश लामा पनि लागेका छन् । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालका केन्द्रीय समितिमा रहेका लामा काभ्रेबाट सिफारिसमा पर्न लागिपरेका छन् ।

लोकतान्त्रिक मोर्चाका पाउने सिट सुनिश्चित नहुँदा हालसम्म उनको पार्टीले कुनै पनि क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छैन ।

Comments

comments