एजेन्सी । सलमान खान विरुद्ध बिग बोस ११ का एक प्रतिस्पर्धी प्रहरी समक्ष पुगेका छन् । भारतीय टेलिभिजन कलर्समा प्रसारण भैरहेको रियालिटी शो बिग बोस ११ का प्रतिस्पर्धी जुबेर खानले प्रहरी समक्ष शोका प्रस्तोता सलमान खानविरुद्ध रिट दायर गरेका हुन् ।

कार्यक्रम सञ्चालक सलमान खानले जुबेरलाई उनले महिला प्रतिस्पर्धीहरुमाथि प्रयोग गरेका शब्दहरुलाई लिएर गाली गरेका थिए । भारतीय संचार माध्यम अनुसार, सलमान खानको गालीले गर्दा जुबेर बिरामी परे र अस्पताल भर्ना भए । अस्पतालबाट निस्केपछि बिग बोसको घरबाट समेत निस्किएका जुबेर सलमानका विरुद्ध प्रहरी समक्ष एफआइआर दर्ता गर्न पुगेका हुन् ।

शोका एक सहभागी आर्शी खानले आफ्नो धर्मलाई बदनाम गर्न खोजेका कारण आफूले त्यस्तो बोलेको जुबेरले आफ्नो फेसबुकमा लेखेका छन् । एक संचार माध्यमलाई अन्तर्वार्ता दिंदै, जुबेरले सलमान खानको कनेक्सन अन्डरवर्ल्डसंग भएका कारण आफूलाई धम्काएको र आफूले सलमानलाई दिएको जवाफ टेलिभिजनले प्रसारण नगरेको समेत बताएका छन् ।

सलमान खानले आफ्नो करियर नै ध्वस्त पारिदिने सम्मको धम्कि दिएका कारण आफूले न्याय पाउनको लागि हरेक तहको सहयोग लिने जुबेरले बताएका छन् ।

Comments

comments