-नारायण अधिकारी

चितवन । चर्चामा रहेको नेपाली कथानक चलचित्र छक्का पन्जा २ को कथावस्तुमा कानूनी रुपमा त्रुटि देखिएको भन्दै कानूनी व्यवसायीले प्रश्न उठाएका छन् । चलचित्रको कथावस्तुले अदालती प्रक्रियामा गर्नै नमिल्ने घटनाक्रमलाई प्रस्तुत गरेपछि कानून व्यवसायीले प्रश्न उठाएका हुन् ।

चलचित्र हेरेपछि अधिवक्ता रमेश काफ्लेले धेरैले रुचाएको यस चलचित्रमा अदालती प्रक्रिया त्रुटिपूर्ण रुपमा देखाइएको प्रतिक्रिया दिनुभयो । ुअदालतमा दायर भैसकेको सम्बन्ध विच्छेदको मुद्दालाई प्रहरीमा फर्काएर मिलापत्र गर्नु कानूनसम्मत हुँदैनु, उहाँले भन्नुभयो ।

चलचित्रमा सम्बन्ध विच्छेदको मुद्दामा बहसपछि न्यायाधीशले प्रहरी नायब उपरीक्षकसँग छलफल गरेर एक महिनापछि पुनः हाजिर हुन निर्देशन दिइएको छ । अदालत नगइ प्रहरीले मुद्दा मिलाएको चलचित्रमा देखाइएको छ । ‘सँगै जोडिएको अर्को सम्बन्धविच्छेदको मुद्दालाई एक करोड ५० लाख रुपैयाँ दिएर होटलमा मिलाइएको छु, अधिवक्ता काफ्लेले भन्नुभयो, ुजुन अदालतभित्रै गर्नुपर्ने कानूनी व्यवस्था छ ।’

नेपालका अदालतहरुमा कुनै पनि मुद्दामा पक्ष र विपक्षले एकै पटक बहस नगर्ने भएपनि चलचित्रमा पक्ष र विपक्षलाई एकै पटक बहस गर्न लगाइएको छ । काफ्लेका अनुसार साक्षी प्रमाण बुझ्दा साक्षीलाई कठघरामा उभ्याउनु पर्ने प्रचलन नभए पनि चलचित्रमा भने धेरै साक्षीहरुलाई कठघरामा उभ्याइएको छ । भारतीय अदालतहरुमा हुने कतिपय अदालती प्रक्रियालाई चलचित्रमा देखाइएको छ ।

यस अतिरिक्त अष्ट्रेलियाले राहदानीका आधारमा नभई पत्रमा प्रवेशाज्ञा दिने भएपनि चलचित्रमा राहदानीमा प्रवेशाज्ञा हेरेको देखाइएको छ भने घुस खाएको देखाइएको भएपनि खान नहुने कुरा उल्लेख गरेको पाइँदैन ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सम्बन्ध विच्छेदको मुद्दाको कार्यक्षेत्र प्रहरी नभएर अदालत भएको बताउनुभयो । अदालत गइसकेपछि त्यस्ता मुद्दा प्रहरीमा फर्काएर मिलापत्र गर्न नमिल्ने उहाँले बताउनुभयो । अदालत बाहिर सम्बन्धविच्छेद गराउन पनि नमिल्ने घिमिरेको दलील छ ।

जिल्ला अदालत चितवनका श्रेस्तेदार गेहेन्द्रराज पन्तका अनुसार सम्बन्ध विच्छेदका मुद्दा मिलाउने कार्यक्षेत्र प्रहरीको नरहेको बताउनुहुन्छ । त्यस्ता मुद्दा मेलमिलापकर्ता वा बेञ्चमै मिलापत्र गरिनुपर्छ । चित्त नबुझे उच्च अदालत जान सकिन्छ ।

अतिरिक्त प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी अदालत गइसकेको मुद्दा अदालतमै छिनोफानो हुने बताउनुहुन्छ ।

चलचित्र जाँच समिति ९सेन्सर बोर्ड० का पूर्व सदस्य सन्दीप सापकोटा चलचित्रमा प्राविधिक रुपमा त्रुटि हुन नहुने बताउनुहुन्छ । समाजलाई सन्देश दिँदा सकारात्मक सन्देश दिनुपर्ने र प्राविधिक रुपमा त्रुटी भए त्यसले नकारात्मक सन्देश जाने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले चलचित्रका कथावस्तुमा प्रस्तुत हुने विधि, कला, नियमका विषयमा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसँग सुझाव लिएर चलचित्र निर्माण गर्न सके विवाद नआउने बताउनुहुन्छ ।

चलचित्र जाँच समितिका सदस्य विमला केसी छक्का पन्जा २ को जाँच गर्ने क्रममा आफैंले यो विषय उठान गरेको भएपनि समग्रमा यसको सन्देश सकारात्मक रहेकाले स्वीकृति दिएको बताउनुहुन्छ । स्पष्ट कार्यविधि नभएका कारण पनि यस्ता चलचित्र बन्ने गरेको उहाँ स्वीकार्नुहुन्छ ।

चलचित्र छक्का पन्जा २ का निर्माता दीपकराज गिरी कानुनी रुपमा उठेका केही कुरा सत्य भएको स्वीकार्दै चलचित्र शतप्रतिशत सत्यतामा आधारित रहेमा त्यो वृत्तचित्र हुने बताउनुभयो । चलचित्रमा अदालतको अपहेलना नहोस् भन्ने विषयमा भने विशेष ख्याल गरिएको उहाँको भनाइ छ ।

चलचित्रमा न्यायाधीशले सम्बन्ध विच्छेदको मुद्दामा प्रहरी नायब उपरीक्षकसँग बृहत् छलफल गरेर एक महिनापछि पुनः आउन भनिए पनि चलचित्र एक महिनाको विषयवस्तु अगावै सकिएकाले यस्तो देखिएको गिरीले बताउनुभयो ।

यस चलचित्रमा अध्ययनको नाममा विदेश जाने र उतै पलायन हुने प्रवृत्तिको भण्डाफोर गरिएको छ । एउटी चेलीले अष्ट्रेलिया जान परिवार छाडेर कागजी विवाह गरेसँगै निम्तिएको समस्यालाई चलचित्रले उजागर गरेको छ जसले आम युवा पुस्तालाई सकारात्मक सन्देश दिन खोजेको छ ।

कथानक चलचित्रमा नाटकीयपन हुने भएपनि यथार्थलाई जस्ताको तस्तै नदेखाइँदा भ्रम उत्पन्न हुन सक्ने देखिन्छ । यो चलचित्र धेरैले मन पराएकाले अदालती प्रक्रियामा भ्रम सिर्जना हुनसक्ने देखिएको छ ।

Comments

comments