काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा असुलीमा सक्रिय गुण्डाहरुको समूह संलग्न रहेको प्रहरीले सुरुवाती अनुसन्धानबाट पत्ता लगाएको छ ।

सोमबार दिउँसो शान्तिनगरस्थित खरिबोटबाट निजी प्राडोमा चढेर बानेश्वरस्थित मूलसडकतर्फ निस्कने क्रममा तीन गोली प्रहार गरी गौचनको हत्या भएको हो ।

बा १३ च ४९४८ नम्बरको प्राडोमा चढेका उनी चालकसँगैको सिटमा बसेर बानेश्वरतर्फ आउने क्रममा खरिबोट नजिकै सुरुमा गौचन बसेको सिटतर्फ ढुंगा हानेपछि उनीमाथि तीन गोली हानिएको थियो । गौचनमाथि हानिएको गोली सिधै उनको छातीमा लागेको थियो ।

छातीमा गोली लागेपछि ढलेका गौचनलाई स्थानीयबासीले तत्कालै उपचारका लागि बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल लगेका थिए । तर, अस्पताल नपुर्याउँदै गौचनको निधन भइसकेको निजामती अस्पतालका डा।विमल थापाले जानकारी दिनुभएको छ ।

कसले गर्यो गौचनको हत्या ?

घटनापछि प्रहरीको सारा शक्ति गौचनको हत्यामा संलग्नको खोजीमा केन्द्रित भएको छ । महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो ९सिआईबी० सहितको टोलीले अहिले अनुसन्धानलाई तीब्र पारेको छ । तर, घटना भएको तीन घन्टा बितिसक्दा पनि प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न सकेको छैन ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले अनुसन्धान तीब्र पारिएको उल्लेख गर्नुभयो । ‘हामी अनुसन्धानका क्रममा छौँ, गौचनको हत्यामा संलग्नबारे केही सूचना आएका छन्’, लोहनीले भन्नुभयो, ‘हामीलाई प्राप्त सूचनाका आधारमा हत्यामा संलग्नको खोजी तीब्र पारिएको छ ।’

एसएसपी लोहनीले गौचनको हत्याको कारण खुलिनसके पनि गुण्डाका समूहरु संलग्न हुन सक्ने इशारा गर्नुभयो । तर घटनास्थल आसपासमै रहनुभएका उहाँले अनुसन्धानको प्रारम्भीक चरणमा रहेकाले अहिले नै सबै कुरा भन्ने अवस्था नरहेको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख रवीन्द्र धानुकले प्रहरीका सबै युनिटको टोली परिचालित भएर संयुक्तरुपमा अनुसन्धान भइरहेको बताउनुभयो । धानुकले अनुसन्धानको तीर विभिन्न अपराधिक समूहमा केन्द्रित गरिएको बताउँदै अहिले नै हत्यामा संलग्न समूहबारे केही बोल्न नसकिने उल्लेख गर्नुभयो ।

अनुसन्धान दुई गुण्डा समूहतर्फ

प्रहरीले गौचनको हत्या लगत्तै गुण्डाहरुका दुईवटा समूहमाथि अनुसन्धान सोझ्याएको छ । प्रहरी स्रोतका अनुसार पहिलो अनुसन्धानको तीर गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलको समूहमाथि केन्द्रित गरिएको छ ।

प्रहरी स्रोतका अनुसार ठेकेदार तथा व्यापारीहरुबाट करोडौँको मात्रामा रकम असुल्दै आएको बाहुनको समूहले तीन दिनअघि मात्रै गौचनमाथि हातपात गरेका थिए । प्रहरी स्रोतले बाहुनको समूहका गुण्डाहरुले मागेजति पैसा नदिएको भन्दै गौचनलाई कुटपिट गरेको तथ्य सार्वजनिक गरेको छ ।
रमेश बाहुनको समूहले निर्माण व्यवसायीहरुबाट लामो समयदेखि अवैध रकम असुल्दै आएको छ । यही समूहले दुई वर्षअघि ललितपुरका कांग्रेस कार्यकर्ता मिनकृष्ण महर्जनलाई गोली हानेको थियो ।

यो समूहका नाइके भनिएका रमेश बाहुन भने लागूऔषध मुद्दामा अहिले कारागारमा सजाय काटिरहेका छन् । बाहुन कारागारमा रहे पनि उनको समूहका सदस्यले निर्माण व्यवसायीलाई सताउने क्रम भने रोकिएको थिएन ।

मनोज पुन पनि छानबिनको दायरामा

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भएको मनोज पुनको समूहमाथि पनि प्रहरीले अनुसन्धान बढाएको छ । गत वर्ष बुटवलमा पुनकै समूहले गोली हानेर युवा संघका जिल्ला अध्यक्ष तिवारीको ज्यान लिएको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या यही समूहले गरेको हुन सक्ने प्राराम्भीक अनुमान पनि प्रहरीले गरेको छ । प्रहरी स्रोतले गौचनको हत्याको जिम्मेवारी समेत पुनको समूहका एक सदस्यले नेपाल बाहिरबाट फोन गरेर लिएको जानकारी दिएको छ ।
दुर्गा तिवारीको हत्या अघिसम्म नेपालमै बस्दै आएका मनोज पुन त्यसपछि भने भारतमा बस्दै आएका छन् । भारतमा बसेर पनि उनले आफ्नो गुण्डा समूहलाई निरन्तर चलायमान बनाइरहेको प्रहरी स्रोत बताउँछ ।

प्रहरीले यी दुवै समूहबाट गौचनसँग करोडौँ रकम मागिएको प्राराम्भीक सूचना पाएको छ । काठमाडौँका एसएपसपी रवीन्द्र धानुकलाई फोन नै गरेर यो समूहका सदस्यले घटनाको जिम्मेवारी लिएको बताइएको छ । तर, धानुकले यसबारेमा कुनै प्रतिक्रिया दिन अस्वीकार गर्नुभयो ।

Comments

comments