भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले शेरबहादुर देउवा नेतृत्वको सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाउनु भएको छ ।

रफत सञ्चार क्लवमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले स्थानीय तहको निर्वाचन भए पनि सिंहदरबारको अधिकार गाउँसम्म जानै नसकेको बताउनुभयो । स्थानीय तहको अधिकार सिंहदरबारमै थुनेर कर्मचारीले सरकार चलाइरहेकाले देउवा सरकार कर्मचारीको कठपुतली भएको बिजुक्छेंले आरोप लगाउनुभयो ।

बिजुक्छेंले स्थानीय तहको निर्वाचन सकिएको ४ महिना हुँदा पनि मेयर उपमेयरको तलबसम्म तोक्न नसक्नु देउवा सरकारको नालायकीपन भएमो उल्लेख गर्नुभयो । जनप्रतिनिधि भन्दा गाउँपालिका र कार्यपालिकामा कर्मचारी हावी हुनाले समेत देउवा सरकार असफल भएको थप पुष्टि भएको उहाँको भनाइ थियो ।

बाम गठबन्धन भारतकै इशारामा
भारतकै इशारामा बनेको बाम गठबन्धनबारे भारतलाई जानकारी नभएको भन्नु बिषय हाँस्यास्पद भन्दै बिजुक्छेंले थप्नुभयो, ‘प्रचण्ड र बाबुरामलाई थाहा भएको बिषय भारतलाई थाहा छैन भन्नु हाँस्यास्पद हो ।’ उहाँले भारतमै हुर्किएका बाबुराम र प्रचण्डलाई थाहा भएको बिषय भारतलाई स्वतः थाहा हुने समेत दाबी गर्नुभयो ।

भारतले नेपालको सम्बृद्धि हेर्न नचाहेको र बिस्तारै नेपालमा देखिएको राजनीतिक समिकरण र धुब्रिकरणले प्रष्टाउँदै लगेको समेत टिप्पणी गर्नुभयो । नेपालको कुटनीतिक पक्ष कमजोर हुनुमा नेपालकै सत्तासिन दलहरुले भागबण्डामा राजदुत नियुक्ति गर्दा भएको बताउनुभयो ।

‘बोल्नै नजान्ने र बिहानैदेखि मदिरामा लठ्ठ भएर कुटनीतिक मर्यादाको समेत जानकारी नभएका राजदुत नियुक्ति गरिनुले नेपालको कुटनीतिक पक्ष कमजोर बनेको छ’, उहाँले भन्नुभयो, ‘राजदुतलाई दोष दिनुु भन्दा पनि तिनलाई नियुक्ति गर्ने दलहरु दोषी रहेका छन् यो मामिलामा ।’

जुनसुकै दलबीच तालमेल र एकता भएपनि नेपाल मजदुर किसान पार्टी कुनै दलसँग पनि तालमेल र एकता नगर्ने बताउँदै उहाँले आगामी दुबै तहका निर्वाचनमा नेमकिपा एक्लै चुनावी मैदानमा उत्रिने घोषणा उहाँले गर्नुभएको छ ।

Comments

comments