एजेन्सी । इजिप्ट २९ वर्ष पछि आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ ।

विश्वकप छनौट अन्तर्गत आइतबार राति अफ्रिकी क्षेत्रको समूह ‘ई’ को खेलमा कंगोलाई २–१ ले हराउँदै इजिप्टले विश्वकपमा स्थान पक्का गरेको हो ।

इजिप्टलाई २८ वर्षपछि फेरि विश्वकपको यात्रा तय गराउनका लागि दुवै गोल मोहम्मद सालहले गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६३ औं मिनेटमा सालहले गोल गर्दै इजिप्टलाई अग्रता दिलाए । ८८ औं मिनेटमा कंगोका लागि अ्रनोल्ड बोउकाले बराबरी गोल फर्काए ।

इन्जुरी समयको पाँचौं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरेका सालहले इजिप्टको रुस यात्रा निश्चित गरे । इजिप्ट सन् १९९० पछि पहिलो पटक विश्वकप खेल्ने भएको छ । जितपछि इजिप्टले समूहको दोस्रो स्थानमा रहेको युगाण्डा भन्दा चार अंकले अघि रहँदै विश्वकपमा स्थान बनाएको हो ।

यस्तै, आइतबार नै भएको अर्को खेलमा जित हांसिल गर्दै पोल्याण्ड विश्वकप फुटबलका लागि छनोट भएको छ । युरोपियन क्षेत्रको छनोट अन्तर्गत समूह ‘ई’ मा रहेको पोल्याण्डले समूह चरणको अन्तिम खेलमा मन्टेनेग्रोलाई ४–२ ले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो ।

३२ देशको सहभागिता रहने विश्वकपमा छनोट हुने पोल्याण्ड १४ औं टिम हो । छैटौं मिनेटमा क्रिजिस्तोफ माजिन्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाए । १६ औं मिनेटमा कामिल ग्रोसिस्कीले घरेलु टोलीको अग्रता दोब्बर पारे ।

७८ औं मिनेटमा स्टीफन मुगोसाले मन्टेनेग्रोका लागि एक गोल फर्काए । ८३ औं मिनेटमा मन्टेनेग्रोका जार्को तोमासेविकले बराबरी गोल फर्काए । तर त्यसको दुई मिनेटपछि पोल्याण्डका रोबर्ट लेवानडोस्कीले गोल गर्दै फेरि अग्रता दिलाएका थिए ।
त्यसको दुई मिनेटपछि मन्टेनेग्रोका फिलिप स्टोज्कोविकले आत्मघाती गोल गरेपछि पोल्याण्ड ४–० ले विजयी भयो ।

समूह ‘ई’ अन्तर्गत नै डेनमार्कले रोमानिया तथा अर्मेनियाले काजखस्तानसँग समान १–१ को बराबरी खेले । डेनमार्क समूहको दोस्रो स्थानमा रहँदै प्ले–अफमा स्थान बनाउन सफल भएको थियो ।

Comments

comments