मेलबर्न । अष्ट्रेलियामा नेपालीहरुको संख्या वर्षेनी बढीरहेको छ । नेपालीहरुको संख्यामा वृद्धिसंगै नेपाली समुदाय बलियो बन्दै छ र आफ्नो पहिचानको संरक्षणको लागि अगाडी बढिरहेको छ । 

अष्ट्रेलियामा नेपालबाट कलाकारहरु आएर कन्सर्ट गर्ने मात्र नभएर , पछिल्लो समयमा अष्ट्रेलियावासी नेपालीहरु आफैले विभिन्न परम्परागत तथा सांस्कृतिक कार्यक्रमहरु गर्न थालेका छन् । प्रत्येक चाडबाड नेपालमै जस्तै गरि मनाउन थालेको नेपाली समुदायले बडादशैं भव्यताका साथ मनाएको छ भने तिहार पनि नेपालको झल्को मेट्ने गरि मनाउने तयारिमा जुटिसकेको छ ।

अष्ट्रेलियाको भिक्टोरियामा रहेको नेपाली समुदायमा रहेका गुल्मेलीहरुको समूह ‘गुल्मी समाज भिक्टोरिया’ ले आफ्नो तिहार कार्यक्रम योजना सार्वजनिक गरिसकेको छ । गुल्मी समाज भिक्टोरियाले टेलर्स हिलमा आगामी अक्टोबर १३ को बेलुका ६ बजेदेखि अक्टोबर १४ को बिहान ५ बजेसम्म देउसी भैलो खेलेर तिहार मनाउने योजना बनाएको हो ।

अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली संस्कृति सिकाउँदै आफ्नो परम्परा तथा पहिचानको सम्बर्द्धन गर्ने र पूरानो पुस्तालाई नेपालमै रहेर चाडपर्व मनाइरहेको अनुभूति दिलाउने उद्देश्यले देउसी-भैलोको आयोजना गरेको आयोजकले बताएका छन् ।

Comments

comments