काठमाडौं । सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग डिपीएलको दोस्रो संस्करण माघ ५ देखी धनगढीमा सञ्चालन हुने भएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा माग ५ देखी धनगढीमा नै दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्ने जनाइएको छ । करिब तीन करोडको लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउने भएका छन् ।

आठ टिमको सहभागिता हुने प्रतियोगिताको तेस्रो हुने टोलीले नगद तीन लाख तथा चौथो हुने टोलीले दुई लाख पाउने आयोजक डिसिएका अध्यक्ष तथा एसपीएका निर्देशक सुवाश शाहीले जानकारी दिनुभयो ।

डिपीएलका प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ । प्रतियोगितामा देशका विभिन्न शहरका फ्रेन्चाइज टोलीहरुको सहभागिता हुनेछ ।

प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाएका टोलीहरुलाई प्राथमिकता दिएर बढीमा दुई टोली थप्दै प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । डिपीएल सिजन एकमा पहिलो पटक अक्सन गरेको आयोजकले यस सिजनमा पनि अक्सनलाई निरन्तरता दिने जनाएको हो ।

प्रतियोगिता खेल्ने टिमहरुको घोषणा र अक्सन आगामी मंसिरमा गरिने आयोजकले धनगढी क्रिकेट एकेडेमीले जनाएको छ  । टी–२० प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्नेछन । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । यस्तै, पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्ने र पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

Comments

comments