काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वकै सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने अडान सार्वजनिक गरेको छ ।

शनिबार पार्टी मूख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटिकिो बैठकले प्रधामन्त्री देउवा र सरकारका मन्त्रीहरुलाई चुनावविरुद्ध गएर कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ ।

बैठकपछि बोल्दै एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले–माओवादी केन्द्र एकताप्रक्रियाबाट कोही पनि तर्सिन जरुरी नभएको बताउँदै कांग्रेसले पनि यसलाई अवसरका रुपमा लिन सक्नुपर्ने बताउनुभयो ।

दुई दलबीचको सहमतिपछि तरंग उठेका छन्, हाम्रो एकता कसैविरुद्ध होइन, कोही तर्सिने र विचलित हुने जरुरी छैन’, ज्ञवालीले भन्नुभयो, ‘यही सरकारले चुनाव गर्ने हो, यो सरकारलाई हटाउने हाम्रो कुनै योजना छैन ।’

वाम गठबन्धनलाई कांग्रेसका केही नेताले अधिनायकवादतिरको यात्रा भनी गरेको टिप्पणीबारे जवाफ दिँदै ज्ञवालीले भन्नुभयो, ‘एमाले–माओवादीको एकतालाई कांग्रेसले गरेको टिप्पणी विचलनबाट आएको हो । कांग्रेसका नेतालाई यस्ता अराजक टिप्पणी हचुवाका भरमा नगर्न आग्रह गर्छु ।’

सरकारबारे एमालेको कुनै टिप्पणी नरहेको ज्ञवालीले बताउनुभयो । ‘सरकारबारे हामी केही बोल्दैनौँ, निर्वाचन यसैले गराउने हो । संसदको म्याद सकिन धेरै दिन बाँकी छैन’, ज्ञवालीले थप्नुभयो, ‘सरकारले कनुै यस्तो निर्णय गर्नुहुँदैन, जसले चुनावी वातावरण नविगारोस् ।’

आचारसंहिता विपरित कुनै पनि काम नगर्न पनि एमालेले प्रधानमन्त्रीलाई सचेत गराएको छ । ‘प्रधानमन्त्रत्री र सरकारले यो निर्वाचन आचारसंहिताविपरित कुनै काम नगरुन् । सरकार परिवर्तनको कुरा अहिले गर्नै हुँदैन । कांग्रेस नेतृत्वकै सरकारले चुनाव गराउने हो’, ज्ञवालीको भनाइ थियो, ‘चुनावी तालमेलको निहुँमा सरकार परिवर्तन र सरकार परिवर्तनको बहानामा चुनाव पर धकेल्न पाइँदैन ।’

Comments

comments