पाँचथर । सिक्किमसँग जोडिएको खुल्ला नाकाका कारण पाँचथरमा सिक्किमे रम र हिट वियरको टान्जिट प्वाइन्ट बन्दै गएको छ । खुल्ला सिमाका कारण जिल्लामा सिक्किमे रमसहित भारतीय मदिराकोे कारोबार बढेको छ ।

प्रहरीले बारम्बार जिल्लाका सिक्किसँग जोडिएका स्थानबाट ठुलो परिणाम सिक्किमे रमसहित भारतीय मदिरा बरामद गर्ने गरेको छ  । प्रहरीले करिब डेढ लाख बराबरको सिक्मिमे रम र हिट वियर नष्ट गरेको छ ।

प्रहरीले एक सय ५६ बोतल सिक्किमे रम र एक सय २६ बोतल हिट वियर जिल्ला प्रशासन कार्यालय र पाँचथर उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहवरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनु भयो ।

शुक्रबार नष्ट गरिएको रक्सी र वियरको मूल्य करिब एक लाख ४० हजार रूपैयाँ पर्छ ।  यसअघि २०७३ माघ १४ गते ४८ बोतल र ७३ चैत्र ३० गते ११६ बोतल सिक्किमे रक्सि नष्ट गरेको थियो भने ०७४ भदौ ८ मा प्रहरीले जिल्लाको उत्तर–पूर्वी क्षेत्रको याङवरक गाउँपालिकाको फलैँचाबाट ४० बोतल सिक्किमे रक्सी बरामद गरेको थियो ।

सिक्किमे रक्सी पाँचथरको फिदिमसहितका ग्रामीण बजारहरूमा व्यवसायीहरूले लुकाईछिपाई प्रति बोतल ७०० देखि एक हजार २०० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ । हिट वियर २०० रूपैयाँदेखि ३५० रूपैयाँसम्ममा बेच्ने गरेका छन् ।

सिक्किमे रम पाँचथरसहित देशभर अबैध रुपमा बिक्रि वितरण गरीन्छ । सिक्किमे रम पाँचथर सदरमुकाममा लुकाई छिपाई बेच्ने गरेको पाइन्छ । विषेश गरेर प्राङबुड, च्याङथापु,फलैंचा, मेमेङ  लगायतका स्थानबाट भरीयाहरुको प्रयोग गरी संकलित मदिरा  कुनै स्थानमा जम्मा गरी सदरमुकाम सम्म गाडिमा राखेर ल्याउने गरेको निरीक्षक बस्नेतले बताए ।

अवैध रुपमा ढाकर र घोडामा बोकेर पूर्वी क्षेत्रमा भित्र्याइने सिक्किमे रक्सीले घरेलु रक्सीको बजारमा संकट निम्त्याएको छ । भारतको सिक्किम राज्यमा उत्पादित सिक्किमे रक्सी सिक्किम भन्दा अन्य देशमा बिक्री गर्न नपाइने प्रावधान छ । सिक्किमे रक्सीमा ‘युज वन्ली सिक्किम’ (सिक्किममा मात्र प्रयोग गर्न पाइने) लेखिएको हुन्छ ।

स्थानीय रक्सीमा भन्दा सिक्किमे वियरमा धेरै नाफा हुने भएकोले प्रहरीको आँखा छलेर लुकाइ छिपाइ ल्याउने गरेको बस्नेतको भनाई छ ।

Comments

comments