काठमाडौं । गायक सञ्जय श्रेष्ठ राप्रपा परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रवार एक कार्यक्रमकाबीच नेपाल प्रहरीका डिआइजी नवराज सिलवालसँगै गायक श्रेष्ठ पनि एमालेमा प्रवेश गरेका हुन् । यसअघि गायक श्रेष्ठ संविधानसभाको दोस्रो निर्वाचनमा राप्रपा नेपालका तर्फबाट काठमाडौंमा उम्मेदवार बनेका थिए ।

राप्रपाका नेताहरु कुर्सी,नातावाद र अवसरवादमा लिप्त रहेको आरोप लगाउदै गायक श्रेष्ठले घरी घरी टुक्रिरहने पार्टीमा बसिरहन उपर्युक्त नलागेर परित्याग गरेको प्रष्ट पारेका छन् ।

केही समय अघि सामाजिक सञ्जालमा गायक श्रेष्ठले पोष्ट गरेको अभिव्यक्ति-

जुन पार्टीका नेताहरु कुर्सी,नातावाद अनि अवसरवादको पछि लागेका हुन्छन्,जुन पार्टीका नेताहरु ४–५ जना उपबुज्रुक तोरीलाउरे मण्डलीहरुबाट घेरिएका हुन्छन्, जुन पार्टीमा योग्य र इमानदार कार्यकर्ताहरुको अवमूल्यन हुन्छ,जुन पार्टीले आफ्नो सिद्धान्त बिर्सन्छ,जुन पार्टी घरिघरी टुक्रिन्छ भने….त्यस्ता पार्टीमा लागिरहनुभन्दा बरु अर्कै पार्टीमा लागेर त्यहाँ आफ्नो सिद्धान्त र आस्थाको मूल्यांकन हुन्छ भने लाग्नु नै बेस । मैले त्यस्तै महसुस गरें र यसलाइ मूर्तरुप दिन खोज्दैछु ।

क्रसरोड ब्याण्डबाट पप गायनमा लागेका गायक श्रेष्ठ पचासको दशकमा युवा पुस्ताबीच निकै पपुलर थिए । उनको टाढा नजाइदेउ तिमी,एउटा गाउँ थियो,मेलम्ची पानीले लगायतका गीत निकै लोकप्रिय छन् ।

Please follow and like us:

Comments