रुकुम । गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्टीको आवश्यकता नरहेकाले वाम एकताको शुरुआत भएको बताउनुभएको छ ।

रुकुममा आयोजित कार्यक्रममा नेता शर्माले वाम एकताले गर्दा लोकतान्त्रिक एकताको शुरुआत हुनाले देश विकास र प्रगतिको बाटोमा अघि बढेको उहाँको भनाइ थियो ।

‘एमाले र माओवादी हामी दुवैले सशस्त्र क्रान्ति गरेका हौँ । सशस्त्र विद्रोह भनेर झापा आन्दोलन अहिलेका एमाले नेताहरुले गरेका हुन्, हामीले जनयुद्ध गर्यौँ’, नेता शर्माले भन्नुभयो, ‘जनयुद्ध, जनआन्दोलन हुँदै नयाँ संविधान बनाएर यहाँसम्म आइपुग्दा दुवै पार्टीका सैद्धान्तिक र वैचारिक आधार एउटै हुन पुगेको छ ।

वैचारिक सहमति बनेपछि अलग अलग पार्टीमा बस्नुभन्दा पनि एउटै पार्टीको पहल शुरु गरिएको हो ।’ उहाँले थप्नुभयो, ‘कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ ।’

मुलुकलाई राजनीतिक स्थायित्व दिन, आर्थिक समृद्धि दिन र संविधान कार्यान्वयनलाई अझ सफलतापूर्वक लैजानका लागि माओवादी केन्द्रका अध्यक्ष र नेकपा एमालेका अध्यक्षले एकार्काको आवश्यकता महसुस गर्नाका साथै एकार्काको अस्तित्व स्वीकारेको बताउँदै नेता शर्माले भन्नुभयो, ‘आरोप प्रत्यारोप त्यागेर वाम एकताका साथ उहाँहरु एक ठाउँमा आउनुभएको हो ।

यो कसैका विरुद्धमा भन्दा पनि देश र नेपाली जनताको समृद्धि र विकासका लागि हो ।’ एकता प्रक्रियामा गएर समायोजन समिति बनाउँदै गर्दा एमाले र माओवादी केन्द्रका अध्यक्षहरु प्रमुख नेताका रुपमा रहने उहाँले बताउनुभयो ।

अब ओलीको नेता प्रचण्ड र प्रचण्डको नेता ओली भएको उहाँको भनाइ थियो । तत्कालीन नेकपा माओवादीको २०६४ सालको काभ्रेको फूलबारी बैठकमा एमालेसँग एकता गर्ने प्रस्ताव नै पारित भएको र त्यसपछि दुई पार्टीबीच धेरै छलफल भए पनि अहिले त्यो सफल भएको नेता शर्माले जानकारी दिनुभयो ।

Comments